२६ बैशाख २०८१, बुधबार
दक्ष सिलाई कटाई कालीगढ उत्पादन तालिम सम्पन्न
  • काँचुली खबर

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ कोहलपुर बाँकेको आयोजनामा संञ्चालन गरिएको २ महिने दक्ष कालीगढ उत्पादन तालिमको शनिबार कोहलपुरमा समापन गरिएको छ । कोहलपुर नगरपालिकाको सहयोगमा संचालन गरिएको तालिमको समापन सत्रमा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले सहभागीहरुले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गरेर आत्म निर्भर बन्नुपर्ने बताए । साथै नगर प्रमुख रावतले सिलाई कटाई तालिमले महिलाहरुलाई घरमै बसेर रोजगारीको सिर्जना गर्ने सक्ने व्यवसाय भएको हुँदा महिलाहरुले आत्मसाथ गरेर यो व्यवसायलाई रोजगारीको बाटो बनाउनु पर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रिय सदस्य रुपलाल परियारले सिलाई कटाई व्यवसायलाई हेर्ने दृष्टिकोण नै फरक भएको हुदाँ यो पेशालाई मर्यादित बनाउन आवश्यक रहेको बताए । साथै उनले स्थानीय सरकारले यो व्यवसायलाई स्तर उन्नतीकालागि सहयोग गरेको भन्दै कोहलपुर नगरपालिकालाई धन्यवाद समेत दिए । कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार भिम रावतले स्थानीय सरकारले दिने अनुदानले बढी भन्दा बढी व्यक्तिहरुले लाभ लिनुपर्ने बताए ।
तालिमकी सहभागी बाल कुमारी चौधरीले पहिले आफुले सामान्य मात्र कपडा सिलाउन जानेको र तालिम पश्चात अहिले सजिलै सबै कपडा सिलाउन सक्ने बताइन । त्यस्तै अर्की सहभागी लक्ष्मी विष्ट मगरले दक्ष कालिगढ तालिमबाट आफुले निकै राम्रो सिप सिकेर सिलाई कटाईमा दक्ष भएको बताईन । कार्यक्रममा तालिम सिकेर सिलाई कटाई व्यवसाय संचालन गरेका ४ जना सहभागीलाई दोसल्ला सहित प्रमुख अथिति रावतले सम्मान गरेका थिए ।


२ महिने तालिमको प्रशिक्षकद्धय पवित्रा सुनार र कल्पना पुनले प्रशिक्षण गरेका थिए । कोहलपुर नगरपालिका भित्रका २२ जना महिलाहरुको सहभागीता रहेको सो तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिनुका साथै सहभागीहरुले तयार गरेका तयारी पोषाक समेत प्रर्दशनीमा राखिएको थियो ।
कार्यक्रम नेपाल कपडा तथा सिलाई व्यवसायी बाँके कोहलपुरका कार्यवाहक अध्यक्ष शालिकराम परियारको सभापतित्वमा सम्पन्न भएको थियो भने तालिमको संघकी सचिव पवित्रा सुनारले संचालन गरेकी थिइन ।

  • ५ श्रावण २०७५, शनिबार २१:२२ प्रकाशित
  • Nabintech