शिलालेखमा ‘श्री ५’ लेखेपछि विवाद, मेटाउन लगाउने सीडीओको तयारी
  • काँचुली खबर

१० मंसिर, बिर्तामोड । झापाको बिर्तामोड १ स्थित इकम कलेजले शनिबार तामझामका साथ पृथ्वीनारायण शाहको सालिक अनावरण गर्यो । पूर्व राजा ज्ञानेन्द्र शाह उपस्थितीमा सालिक अनावरण गरेको उक्त कलेज अहिले विवादित हुन पुगेको छ ।

इकम कलेजले राजतन्त्रको अन्त्य भएको वर्षौपछि पूर्व राजाको नाम शिलालेखमा बहालवाला राजा सरह लेखेपछि चौतर्फी विरोध सुरु भएको हो । नेपाल सरकारको नीति बमोजिम दर्ता भई सञ्चालनमा रहेको इकमले शिलालेखमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह’ लेखेको छ ।

शिलालेखको लेखाई अनुसार कार्यक्रम आयोजक संस्थाले संविधानको ठाडो उल्लंघन गरेको छ । कलेजले राजतन्त्रकै हवाला दिने गरी शिलालेख बनाएर पूर्वराजा ज्ञानेन्द्रको उपस्थितिमा सालिक अनावरण गरेको हो ।

कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्कीले शिलालेखमा त्रुटि भएको स्वीकार गरेका छन् । उनले पूर्वराजाको सचिवालयबाट प्राप्त फर्माट अनुसार शिलालेख तयार गरिएको जानकारी दिए । उनले भने, ‘शिलालेख तयार भइसकेपछि हामीले पनि महसुस गरेका थियौं । तर, समय अभावले सच्याउन सकेनौं । आज विदा छ, २ दिनभित्र पूर्व राजा लेखेर अर्को शिलालेख राख्नेछौं ।’ उनले आफुहरु संविधान विरुद्ध नरहेको स्पष्ट समेत पारेका छन् ।

कार्यक्रममा राष्ट्रिय गान ‘सयौं थुगा फुलका हामी, एउटै माला नेपाली’ समेत बजाइएको थिएन । सो सन्दर्भमा जिज्ञासा राख्दा उनले भने, ‘राष्ट्रिय गान नबझाउन अनुरोध थियो । तर, बझाउन नपाएकोमा खल्लो लागेको छ ।’

पूर्व कानुनमन्त्री अग्नी खरेलले राजतन्त्र नभएको देशमा कलेजले राजा छन् भन्ने सन्देश दिन खोजेर गम्भीर त्रुटि गरेको बताएका छन् । उनले उक्त कलेजलाई तत्काल त्रुटि सच्याउन भनेका छन् । संविधान विपरिज जान कसैलाई छुट नभएको उनको धारणा छ ।

कलेजले शिलालेखमा लेखेको पद मुलुकमा नरहेको बताउदै उनले संविधानले राजा नचिन्ने स्पष्ट बनाएका छन् । यो गणतन्त्रात्मक देश हो, यहाँ कुनै राजा महाराजा छैनन्, खरेलले भने, ‘पूर्व राजा वा तत्कालिन राजा लेख्न मात्रै पाइन्छ ।’

पूर्व महान्यायधिवक्ता समेत रहेका खरेलले ‘श्री ५ महाराजधिराज’ लेख्दा पनि नेपाल सरकारले के हेरेर बसरिहेको छ ? भन्दै प्रतिप्रश्न गरेका छन् । उनले राजतन्त्र अन्त्य भइसकेको अवस्थामा राजा छन् भन्ने सन्देश दिनु शैक्षिक संस्थाको ठुलो कमजोरी भएको बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले हुदै नभएको पद लेख्न नपाइने बताएका छन् । यो विषय जानकारी लिइरहेको बताउादै उनले लेख्न नमिल्ने विषय लेखेको भए तत्कालै मेटाउन लगाइने बताए ।

ईजलास दैनिकबाट

  • १० मंसिर २०८०, आईतवार १७:५१ प्रकाशित
  • Nabintech