२४ बैशाख २०८१, सोमबार
भारतबाट ल्याइएका मुर्रा राँगा कहाँ र कसरी राखिन्छ ?
  • काँचुली खबर

१० मंसिर, नेपालगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दिल्लीले उपहार स्वरूप दिने भनिएका ‘मुर्रा’ राँगा करिब पाँच महिनापछि ७ मङ्गसीरमा नेपालमा ल्याइएको हो।

राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिने विभागका प्रमुख पशु विकास अधिकृत डा. माधवप्रसाद अर्यालका अनुसार तीमध्ये सातवटा राँगालाई पोखरामा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा र पाँचवटालाई लाहान लगिएको छ ।

बाँकी तीनवटालाई बाँकेको खजुरास्थित गौघाटमा राखिएको अधिकारीहरूले बताएका छन् ।

भारतको पञ्जाबबाट राँगालाई स्थल मार्ग हुँदै जमुनाहा नाकाबाट नेपालगन्ज प्रवेश गराइएको थियो ।

भारतको पन्जाबस्थित राष्ट्रिय भैँसी अनुसन्धान केन्द्रबाट ल्याइएको राँगाको क्वारन्टिन चेकजाँच गरेर बाँकेबाहेकका अन्य दुई स्थानमा रहेका राष्ट्रिय पशु प्रजनन कार्यालयमा पठाइएको पशु सेवा विभागले जनाएको छ।

उनीहरूको हेरचाहका लागि पशु चिकित्सकसहितको प्राविधिक टोली त्यहाँ खटिने डाक्टर अर्यालले बताए।

मुर्रा भैँसी नै किन ?

गत जेठ महिनाको अन्तिम साता भएको प्रधानमन्त्री दाहालको दिल्ली भ्रमणका क्रममा दुई देशका सरकारबीच भएको द्विपक्षीय समझदारी अन्तर्गत नस्ल सुधारका लागि मुर्रा जातको १५ वटा राँगा दिने प्रतिबद्धता भारतले जनाएको थियो।

प्रधानमन्त्रीको भ्रमण पश्चात् पशु सेवा विभागको टोली भारत पुगेर राँगा छनोट लगायतका काम गरेपछि स्थल मार्ग हुँदै रुपैडिया-जमुनाहा नाकाबाट नेपालगन्ज ल्याइएको डा. अर्यालले बताए।

संसारभर नै मुर्रा धेरै दूध दिने जातको भैँसीका रूपमा परिचित रहेको उनले बताए।

“नेपालमा नस्ल सुधार र बढी दूध उत्पादनका लागि मुर्रा राँगालाई प्रवेश गराइएको हो”, उनले भने।

“यो मुर्रा जातको राँगाबाट उत्पादन गरिएको वीर्य मार्फत नेपालमै रहेका अन्य भैँसीहरूमा प्राकृतिक गर्भाधान गराएर नस्ल सुधार गरिने छ।”

नेपालले किन किनेर ल्याएन ?

मुर्रा राँगा अन्य राँगाको तुलनामा जिउडाल ठूलो हुने र आहारा पनि धेरै खाने भएकाले पालनपोषण र हेरचाहमा बढी ख्याल गर्नुपर्ने डाक्टर डा. माधवप्रसाद अर्याल बताउँछन्।

देश अनुसार पशु निर्यात गर्ने नीति फरक हुने भएकोले सबै प्रक्रिया पुर्‍याएर मुर्रा राँगा प्रवेश गराइएको उनले बताए।

“कुनै पनि जेनेटिक मेटेरियलहरू बेचबिखन गर्न नदिने भारतको राष्ट्रिय नीति रहेछ, त्यस कारण किनेर ल्याउने सम्भावना पनि रहँदैन, त्यसका लागि दुई देशबीच समझदारी भएर मात्र आउन सम्भव भएको हुँदा प्रधानमन्त्री स्तरीय भ्रमणमा यो कुराको टुङ्गो लागेको हो,” उनले भने।

प्रधानमन्त्री दाहालको भ्रमण पश्चात् प्राविधिक काम, राँगा छनोट लगायत काम गर्नका लागि पशु सेवा विभागकी पूर्वउपमहानिर्देशक डा. सम्झना कुमारी काफ्लेको संयोजकत्वमा एउटा टोली भारत पुगेको थियो।

करिब एक साताअघि सोही टोलीले टुङ्गो लगाएका मुर्रा राँगालाई भारतीय अधिकारीले हस्तान्तरण गरेपछि दुई वटा ट्रकमा राखेर नेपालगञ्ज ल्याइएको राष्ट्रिय पशु प्रजनन कार्यालय लहानका डाक्टर शिवनाथ महतोले बताए।

राँगा छनोट समितिमा समेत रहेका डाक्टर महतोले नेपाल प्रवेश गराइएका मुर्रा राँगाबाट अबको तीन महिनाभित्र लाभ लिन सकिने दाबी गर्छन्।

उनले भने “यी सबै दुईदेखि तीन वर्ष उमेर समूहका हुन्, साढे तीन वर्ष पुगेपछि वीर्य उत्पादनका लागि योग्य हुन्छन्। केही दिन राँगालाई तालिम दिइन्छ अनि यसबाट लाभ लिन सुरु गरिन्छ ।”

नेपाल प्रवेश गराइएका सबै राँगा उत्कृष्ट मुर्रा भैँसीबाट जन्मिएको जानकारी दिँदै उनले यसबाट नेपालमा नस्ल सुधारको राम्रो अवसर भएको बताए।

राँगासँगै मुर्रा जातकै भैँसी उपलब्ध भए शत प्रतिशत मुर्रा उत्पादन गर्न सकिने डाक्टर महतोले बताए।

राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाट बाँकेका डाक्टर मिलन कुमार चौधरीले खुला नाकाका कारण नेपालका कतिपय कृषकहरूले पहिलेदेखि नै भारतबाट भित्र्याएर मुर्रा भैँसी पालिरहेको बताए।

उनले भने, “बाँकेका यादव समुदायले पहिलेदेखि नै मुर्रा जातका भैँसी पालिरहेका छन् तर अहिले ल्याइएका उच्च गुणस्तरका मुर्रा राँगा हुन्।”

हरियाणा र नेपालको मौसम एकै किसिमको भएको बताउँदै उनले मुर्रा राँगा सहजै नेपालमा स्थापित हुने उनले दाबी गरे।

मुर्रा राँगासँगै नेपालगन्ज आएका राष्ट्रिय भैँसी अनुसन्धान केन्द्र भारत हरियाणाका डाक्टर राजेश कुमारले भारतले औपचारिक रूपमा पहिलो पटक नेपाललाई मुर्रा भैँसी उपलब्ध गराएको बताए।

मुर्रालाई नेपालको हावापानी कस्तो ?

भारतले नस्ल सुधारका लागि एक जिल्लाबाट अर्को जिल्लामा मुर्रा पठाइरहेको हुन्छ।

“मेरो जानकारीमा एउटा देशबाट अर्को देशमा पठाएको यो पहिलो नै हो,” डाक्टर राजेश कुमार भन्छन्।

मुर्रा राँगालाई नेपालको वातावरणमा घुलमिल हुन केही समय लाग्ने तर स्थापित हुन ठूलो समस्या नहुने उनी बताउँछन्।

“एक देशबाट अर्को देशमा जाँदा केही फरक त भइहाल्छ, तर भारत र नेपालको मौसममा त्यति फरक छैन।”

बुधवार बेलुका करिब साढे ७ बजे नेपालगन्ज प्रवेश गराइएको राँगालाई सुरुमा गुँड, सक्खर पानीले स्वागत गरेको पशु क्वारन्टिन कार्यालय बाँकेका पशु चिकित्सक लौटनराम चौधरीले बताए।

नेपालगन्जको जयसपुरस्थित पशु क्वारन्टिनको हेल्डिङमा राखिएका मुर्रा राँगालाई सक्खर पानीपछि दाना, पराल र हरियो घाँस खान दिइरहेको उनले जानकारी दिए।

होल्डिङमा छाना सहितको टहरा रहे पनि रातको समयमा सबै राँगा खुल्ला आकाशमुनि बस्न रुचाएको पशु चिकित्सक चौधरीले बताए।

बीबीसीबाट

  • १० मंसिर २०८०, आईतवार १४:१३ प्रकाशित
  • Nabintech