१६ चैत्र २०८०, शुक्रबार
अध्यक्ष र लेखा सदस्यले सहकारीको खाए ११ लाख, स्थानीयलाई टेर्नै छोडे शेरबहादुर थापा
  • काँचुली खबर

सुर्खेत– दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं। ६ को सिंहासैनमा रहेको बयालढुंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केश बहादुर शाही र लेखा संयोजक निरक कठायतले सहकारीको ११ लाख २० हजार रुपैयाँ हिनामिना गरेको पाइएको छ ।

एक सय ३२ जना शेयर सदस्य रहेको उक्त सहकारी २०६६ सालमा स्थापना भएको थियो । २०६६ सालमा अध्यक्ष बनाइएका केशबहादुर शाही र निरक कठायतले कागजात मिलाएर उक्त रकम खाएको देखिएको स्थानीय गगन शाहीले बताए ।

‘हामीले बारम्बार उनीहरूलाई छलफलका लागि बोलाएका थियौं ।’ उनले भने, ‘तर उनीहरूले अहिले हामीलाई टेर्नै छोडे ।’ गगनका अनुसार उनीहरूबाट रकम असुल गरिदिन भनेर इलाका प्रहरी कार्यालय राकम कर्णालीमा दुई पटक छलफल भइसकेको छ । तर, उनीहरू सम्पर्कमै आउन चाहेका छैनन् ।

‘एक सय ३२ जना शेयर सदस्य रहेको सहकारीको पैसा हिनामिना हुँदा हामीलाई अन्य सहकारी खोल्न समस्या परेको छ ।’ उनले भने, ‘स्थानीयद्वारा नै रकम हिना मिना भएपछि अहिले अन्य शेयर सदस्यहरू पनि आक्रोशित भएका छन् ।’

रकम हिनामिना भएपछि बारम्बार हिसाब माग्दा केशबहादुर शाही सम्पर्कमा नआएको बताइएको छ । लेखा सदस्य निरक कठायत भने अहिले पनि गाउँमै रहेका छन् । उनले आफूले एक लाख ६० हजार रुपैयाँ मात्रै खाएको स्वीकार गरेका छन् । साउन ७ गतेसम्म उक्त रकम आफूले तिर्ने गरी जिल्ला प्रशासन कार्यालय दैलेखमा कागज पनि गरेका छन् ।

‘अहिले सहकारीको कुर्सी र टेवलहरू, अन्य कागजातहरु कता छन थाहा छैन ।’ नाम नबताउने शर्तमा एक जना शेयर सदस्यले भने, ‘अहिले सहकारीको पुरै नामोनिसान मेटिएको छ ।’ सहकारी खोलेर आफूहरूलाई सहयोग पुग्ने अपेक्षा सहित आफूहरूले पैसा दैनिक रुपमा जम्मा गर्ने गरेता पनि त्यो सबै रुपैयाँ दुई जनाले खाएको उनको भनाई छ ।

सहकारी संस्थामा उच्च मूल्य कृषि बस्तु विकास आयोजना दैलेखले बाख्रापालनको लागि २०७२ मा दिएको २ लाख ४० हजार रुपैयाँ पहिलो किस्तामा र दोस्रो किस्ता ४ लाख गरेर ६ लाख ४० हजार रुपैयाँ खोर सुधारका लागि भनेर दिएको थियो । त्यो मध्ये पहिलो किस्ताको काम गरे पनि दोश्रो किस्ताको रकम भने उनीहरूले कामै नगररे खाएका थिए ।

उनीहरूले अन्य कागजात मिलाउन नसक्दा तेस्रो किस्ताको रकम निकाल्नै सकेनन् । संस्थामा रकम हिनामिना भएको पाइएपछि स्थानीय शेयर सदस्यहरूले छानविन समिति समेत गठन गरे । छानविन समितिको संयोजकमा नरबहादुर कठायत, सदस्यहरूमा अर्जुन शाही र भीम आचार्य रहेका थिए ।

तर छानविन समितिले प्रतिवेदन नै सार्वजनिक गरेन । छानविन समितिका संयोजक नर बहादुर कठायतले रकम हिनामिना भएको आफूहरूले पाएको बताए । ‘हामीले गरेको छानविन अनुसार ११ लाख २० हजार रुपैयाँ हिनामिना भएको देखियो ।’ उनले भने, ‘हामीले प्रतिवेदन कस्लाई बुझाउने भन्ने अन्यौल रहेका कारण प्रतिवेदन सार्वजनिक नगरेको साँचो हो ।’

यता, परियोजनाका सामाजिक परिचालक चुडामणि उपाध्यायले उनीहरूले पहिलो किस्ताको विल पेश गरेका र दोश्रो किस्ताको रकमको विल भरपाई अहिलेसम्म पनि पेश नगरेको बताए । ‘मैले बारम्बार ताकेता गर्दा पनि उनीहरूले अटेर गरेका छन् ।’ उपाध्यायले भने, ‘कामै नगर्ने र पैसा खाने परिपाटी हावी भएकाले उनीहरूले कसैलाई पनि टेर्न नचाहेका हुन ।’

उनका अनुसार सहकारीसँग २०७१ साउन १८ गते सम्झौता भएको जम्मा रकम ८ लाख ३४३ रुपैंया थियो । पहिलो किस्तामा २ लाख ४० हजार उनीहरूले लगेका थिए भने सो रकमको पेश्की फछर््यौट भएका कारण दोश्रो किस्ताको ४ लाख लिएका थिए तर उनीहरुले सो किस्ताको विल भरपाई दिन सकेनन् ।

आयोजनाले तेस्रो किस्ताको १ लाख १४ हजार ३४३ र अन्तिम किस्ताको ४६ हजार रुपैयाँ उनीहरुलाई भुक्तानी नदिइएको बताएको छ ।
यता, सम्पर्कमा आएका लेखा सदस्य निरक कठायतले आफूले एक लाख ६० हजार रुपैंया खाएको स्वीकार गरे । ‘हामीले दोश्रो किस्तामा आएको ४ लाखमा एक लाख ६० हजार मैले लगेको हुँ ।’ उनले भने, ‘बाँकी रकम अध्यक्षले नै खाएका हुन ।’

उनले अध्यक्ष शाहीसँग बारम्बार सम्पर्क गर्ने गरेतापनि सम्पर्कमा आउन नचाहेको बताए । ‘दुवै जना मिलेर पैसा दिउँ भनेतापनि उनले अटेर गर्ने गरेका छन् ।’ उनले भने, ‘अध्यक्षका कारणले म दबाबमा छु । चौतर्फि रुपमा दबाब आइरहेको छ ।’

  • ५ श्रावण २०७५, शनिबार १५:०१ प्रकाशित
  • Nabintech