२९ बैशाख २०८१, शनिबार
भुकम्प अपडेट : नलगाड उपप्रमुख सहित ७३ जनाकाे मृत्यु
  • काँचुली खबर

१८ कात्तिक, जाजरकोट । शुक्रबार राति गएकाे भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ७३ जनाकाे मृत्यु भएकाे छ । शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गए थियाे ।

उक्त भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंह सहित ७३ जनाकाे मृत्यु भएको हाे । भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ३७ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ ।

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिसचन्द्र शर्माका अनुसार जाजरकोटमा मात्र ३७ जनाको मृत्यु भएको पुष्टि भएको र पुष्टि हुन बाँकी थप ४३ जनाको पनि मृत्यु भएको विवरण प्राप्त भएको छ ।

थप विवरण आएको ठाउँमा प्रहरी परिचालन गरी पुष्टि हुने क्रम जारी छ । उनले भने, ‘अहिलेसम्म ३७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । ८ जना गम्भीर घाइतेलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । जिल्ला सदरमुकामको अस्पतालमा झण्डै १ सय बढीको उपचार भइरहेको छ ।गाउँमा पहिरो आएर सडक अबरुद्ध भएकाले गाउँबाट घाइतेको उद्धारका लागि हेलिकोप्टर माग गरी गृहमन्त्रालयमा पत्राचारी गरी समन्वय भइरहेको छ ।

यस्तै भूकम्पबाट रुकुमपश्चिममा पनि अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । रुकुमपश्चिमका प्रमूख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

थप विवरण पनि आउँने क्रम जारी छ । भूकम्पमा परी दुईवटा पालिकामा ५३ जना घाइते भएका हुन् । घाइतेहरुको मिसन अस्पताल चौरजहारि, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

  • १८ कार्तिक २०८०, शनिबार ०६:३८ प्रकाशित
  • Nabintech