३१ बैशाख २०८१, सोमबार
विश्वकपमा नेपाल : निर्णायक जीतका ५ महत्त्वपूर्ण क्षण
  • काँचुली खबर

१७ कात्तिक, काठमाण्डौं । यूएईविरुद्ध ८ विकेटको शानदार जीत दर्ता गर्दै १० वर्षपछि नेपाल टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको छ ।

१३५ रनको सामान्य लक्ष्य नेपालले २ विकेटको क्षतिमा १७ बल बाँकी हुँदै पूरा गर्‍यो । आगामी वर्ष वेस्टइन्डिज र अमेरिकामा हुने टी-२० विश्वकप छनोटमा स्थान पक्का गरेको हो ।

काठमाडौंको मूलपानी मैदानमा यूएईले टस जितेर पहिले ब्याटिङ गर्दा नेपाली स्पीनर चम्किएपछि खेल ‘लो स्कोर’मा समेटिएको थियो ।

यही ‘लो स्कोरिङ टोटल’लाई घरेलु मैदानमा संयमतापूर्वक पछ्याउँदै नेपालले दोस्रोपटक विश्वकप खेल्ने सपना पूरा गरेको हो ।

यूएईका कप्तान तथा ओपनर मोहम्मद वासिमले आक्रामक शुरूआत गर्दा निर्णायक म्याचमा चुनौतीपूर्ण लक्ष्य पाउने देखिएको थियो । तर, टस हारे पनि स्पीनर हावी भएपछि किफायती बलिङ र संयमतापूर्वक ब्याटिङ गर्दै नेपालले विश्वकप सपना पूरा गर्‍यो । विश्वकपको टिकट पक्का गर्ने क्रममा ५ वटा क्षण निर्णायक रहे ।

तेस्रो ओभरमा रनआउट, वासिमको विकेट

मूलपानी मैदानमा लगातार खेल्न पाएको यूएईले टस जितेर नेपालविरुद्ध आक्रामक शुरूआत गरेको थियो । पहिलो ओभरमा १२, दोस्रो ओभरमा ५ र तेस्रो ओभरमा १२ रन जोडेपछि यूएईले पहिलो तीन ओभरमा २९ रन बनाएर खेललाई उच्च लक्ष्यतर्फ पुर्‍याउने संकेत गरेको थियो । तर, खेलको तेस्रो ओभर नेपालका लागि महत्त्वपूर्ण टर्निङ प्वाइन्ट बन्न पुग्यो ।

३।१ ओभरमा नेपाली बलर सोमपाल कामीले आफ्नै बलमा ओपनर खालिद शाहलाई रनआउट गरे । यही ओभरको चौथो बलमा खतरनाक ओपनर मोहम्मद वासिमलाई सोमपालले करण केसीमार्फत क्याच आउट गराए । वासिमले १६ बलमा २६ रन बनाए । यो ओभरमा यी दुई महत्त्वपूर्ण विकेट निकाल्न सफल भएदेखि नै नेपाल खेलमा फर्किएको थियो ।

सन्दीपको १८ र मल्लको २० औं ओभर

ओपनर आउट भएपछि नेपाली स्पीनरले खेललाई नियन्त्रणमा राखिरहे । ९.६ ओभरमा नेपालका लेग स्पीनर सन्दीप लामिछानेले यूएईका अर्का खतरनाक खेलाडी आशिफ खानको विकेट लिए । त्यसपछि झन् नेपाल खेलमा हावी हुने ठाउँमा पुग्यो ।

ओपनर आउट भएपछि वृत्या अरविन्दले एकपछि अर्को खेलाडीसँग पार्टनरशिप गर्न खोजे पनि साथ पाएनन् । बीचको १२औं ओभरमा कुशल मल्लले एक रन मात्र दिएर यूएईलाई खेलमा जम्न दिएनन् । १३.४ ओभरमा उनै मल्लले वृत्यासँग पार्टनरशिप गरिरहेका अलिशान सराफुलाई १६ रनमा सोमपाल कामीबाट आउट क्याच गराए ।

१६ औं ओभरमा कप्तान रोहित पौडेल आफैं बल लिएर आउँदा अलि नासरलाई कुशल भुर्तेलमार्फत आउट गराएका थिए । १७ औं ओभरमा अरविन्दले अभिनाश बोहोरालाई १७ रन हानेर दबाबमा राख्न खोजे । यतिखेरसम्म यूएई १७ ओभरमा ११८ रन जोड्दा ५ विकेटको स्थितिमा थियो ।

तर, १८ औं ओभरको पहिलो बलमै सन्दीपले वासिल हामिदलाई बोल्ड मात्रै गरेनन्, यो ओभरलाई मेडन राख्न सफल भए । १९ औं ओभरमा बोहरोले फेरि ११ रन खाए । यूएई १९ ओभरमा १२९ रन जोड्दा ७ विकेट गुमाउने स्थितिमा पुग्यो ।

सामान्यतः डेथ ओभरमा फास्ट बलर लगाउने अभ्यास छ । तर कप्तान रोहितले जोखिम मोल्दै पार्ट टाइम स्पिनर कुशल मल्ललाई बल थमाए । कप्तानले भरोसा गर्दा मल्लले पहिलो बलमै ६४ रन बनाएर खेलिरहेका वृत्यालाई कुशल भुर्तेलमार्फत क्याच आउट गरे । यही ओभरको अन्तिम बलमा जुनैद सिद्दिकीलाई रोहित पौडेल र आशिफ शेखले रनआउट गरे । यो महत्त्वपूर्ण ओभरमा दुई विकेट गुमाउँदा यूएईले ५ रन मात्रै जोडेर १३४ रनको लक्ष्य नेपालसामु प्रस्तुत गर्‍यो ।

आाशिफ शेखको फिनिसिङ नक, शुरूबाट अन्तिमसम्म

जवाफी लक्ष्य चुनौतीपूर्ण थिएन । तर, स्पीनरलाई साथ दिएको पिचमा यही लो स्कोरिङ म्याचलाई संयमतापूर्वक पूरा गर्नुपर्ने चुनौती नेपाललाई थियो । सदाझैँ ओपनर कुशल भुर्तेल र आशिफ शेखले नेपाललाई राम्रो शुरूआत दिलाए । तीन ओभरमा २६ रन जोड्दा ठूलो शट खेल्ने धुनमा ओपनर भुर्तेल आउट भए ।

आक्रामक शट खेल्न आवश्यक नभए पनि उनी आउट भएपछि नेपाल सम्हालियो । अर्का ओपनर आशिफले संयमतापूर्वक ब्याटिङ गर्दै खराब बलमा बाउन्ड्री लगाए । बीचमा एक दुई रन लिएर बलरलाई निरन्तर दबाब राखिरहे ।

आशिफले तेस्रो नम्बरमा आएका गुल्सन झा र चौथो नम्बरमा आएका कप्तान रोहित पौडेलसँग धैर्यतापूर्वक खेल्दै ओपनिङदेखि जीतसम्म खेललाई पुर्‍याए । ठूला शट खेल्न आवश्यक नभएको लक्ष्य र स्पीनरलाई साथ दिएको पिचमा शेखले धैयर्तापूर्वक ५१ बल खेलेर ६४ रन जोडे । यस क्रममा उनले ७ चौका र १ छक्का प्रहार गरे । यही इनिङका कारण उनले प्लेयर अफ द म्याच अवार्ड समेत पाए ।

गुल्सनलाई तीन नम्बरमा पठाउने निर्णय

आक्रामक शट खेलेर ओपनर भुर्तेल आउट भएपछि नेपाल यूएईका वासिम आउट हुँदाजस्तै दबाबमा आउन सक्थ्यो । त्यसैले यसअघिका महत्त्वपूर्ण म्याचमा यूएईविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै आएका गुल्सन झालाई तीन नम्बरमा ब्याटिङ गर्न पठाइयो ।

एकातिर धैर्यतापूर्वक आशिफ र अर्कातिर गुल्सनले पनि संयमता देखाउँदै २४ बलमा २२ रन बनाए । यस क्रममा उनले तीन चौका प्रहार गरे । तर आफ्नो स्वभाव अनुसार छक्काको लागि कुनै जोखिम उठाएनन् । उनलाई तीन नम्बरमा पठाएर धैर्यतापूर्वक टिमको रन बढाउन भएको साझेदारी पनि खेलको अर्को टर्निङ प्वाइन्ट बन्यो ।

कप्तानी पारी र परिपक्वता

१३५ रनको लक्ष्य पछ्याउँदा ९.३ ओभरमा गुल्सन आउट भएपछि नेपाल ६७ रन जोड्दा २ विकेटको क्षतिको स्थितिमा थियो ।

यसपछि आक्रामक कुशल मल्ललाई नपठाई कप्तान रोहित पौडेल आफैं मैदानमा ब्याटिङका लागि आए । उनी र शेखले खराबलाई बाउन्ड्री हान्दै निरन्तर स्ट्राइक रोटेट गरे । रनरेट पनि मेन्टेन गर्दै खेलेपछि नेपाल कुनै पनि समय दबाबमा देखिएन । शेखले ६३ रन बनाउँदा कप्तान रोहितले २१ बलमा अविजित ३५ रन बनाए । यस क्रममा उनले दुई चौका र दुई छक्का हाने ।

कप्तानी पारी र पिचको अवस्था अवस्था हेरेर स्पीनरलाई खेलाउने, आफैं बलिङ गर्ने र डेथ ओभरमा मल्ललाई पठाएर विकेट निकाल्ने चातुर्यता देखाउँदा रोहितले हरेक स्थितिमा आफ्नो छाप छाडे । उनको यही भूमिका नेपाललाई १० वर्षपछि विश्वकपको बाटो खुलाउने महत्त्वपूर्ण कारण बन्यो । हालै एसिया कप खेलेको नेपालले अब टेस्ट राष्ट्र समेत सहभागी भएर अर्को वर्ष वेस्ट इन्डिज तथा अमेरिकामा हुने टी-२० विश्वकप खेल्न पाउने भएको छ ।

साथै एसियाली छनोट प्रतियोगिताको उपाधि जित्ने सम्भावना पनि जीवित छ । त्यसका लागि नेपालले आइतवार कीर्तिपुरमा ओमानसँग प्रतिस्पर्धा गर्नेछ । ओमान शुक्रवार नै बहराइनलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ ।

  • १७ कार्तिक २०८०, शुक्रबार १६:२४ प्रकाशित
  • Nabintech