१८ बैशाख २०८१, मंगलवार
लुम्बिनीमा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)
  • काँचुली खबर

१४ कात्तिक, बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आईपुगेका छन । उनी निर्धारित तालिकाभन्दा दुई घण्टा ढिलो गरी लुम्बिनी आइपुगेका हुन ।

महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पबाट सिधै गौतमबुद्ध विमानस्थलमा ओलिएका थिए भने त्यहाँबाट हेलिकोप्टरमा लुम्बिनी आईपुगेका हुन । महासचिव गुटेरेसलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गरेका छन ।

पूर्वनिर्धारित समय तालिकाअनुसार बिहान पौने ९ बजे गुटेरेस आउने बताइए पनि बेसक्याम्पमा भएको ढिलाइका कारण दुई घण्टा ढिलो मात्र लुम्बिनी आएका हुन ।

सुरक्षा व्यवस्थालाई ध्यान दिँदै मङ्गलबार बिहानैबाट यहाँस्थित मायादेवी मन्दिरमा सर्वसाधारणलाई रोकिएको छ भने तीन तहको सुरक्षा घेरा बनाइएको छ । लुम्बिनीमा सीमित पत्रकारहरुलाई मात्र प्रवेशका लागि पास उपलब्ध गराइएको छ । नेपाली सेनाले सुरक्षाको जिम्मा लिएकाले विकास कोषले पनि सबैलाई रिपोटिङका लागि पास दिन नसकेको जनाएको छ ।

गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसङ्घका छैटौँ महासचिव हुन । यसअघि लुम्बिनी आएका पाँच जना महासचिवसँग प्रधानमन्त्री आएका थिएनन् । गुटेरेसको लुम्बिनी भ्रमण प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भएकाले यसको महत्त्व बढ्ने कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताए ।

गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भको निरीक्षण र भ्रमण गर्ने कार्यसूची छ । उनलाई मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पुष्पकरणी पोखरीको छेउँमा रहेको पीपलको रुखमुनि स्वागत गर्ने कार्यक्रम राखिएको छ ।

लुम्बिनीमा करिब डेढ घन्टा बिताएपछि काठमाडौँ फर्कने गरी कार्यक्रम तालिका बनेको छ । कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो र अतिथि पुस्तकमा हस्ताक्षरपछि मिडियासँग महासचिव गुटेरेसले आफ्नो धारणा राख्ने कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए ।

  • १४ कार्तिक २०८०, मंगलवार १३:०५ प्रकाशित
  • Nabintech