१३ जेष्ठ २०८१, आईतवार
रिगलको आममाफीविरुद्ध रिटमाथि पूर्ण इजलासमा सुनुवाइ सुरू
  • काँचुली खबर

१४ कात्तिक, काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद पाएका रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिले आममाफी दिएकोविरुद्ध परेको रिटमाथि सुनुवाइ सुरू भएको छ।

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडाको नेतृत्वमा गठित इजलासमा सुनुवाइ सुरू भएको हो। इजलासमा कामु प्रधानन्यायाधीश खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र डा. कुमार चुडाल रहेका छन्।

संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालगञ्जका चेतन अधिकारीका हत्या आरोपमा सजाय काटिरहेका रिगललाई आममाफी दिएका थिए। राष्ट्रपतिको सोही निर्णयविरुद्ध चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले रिगललाई फेरि कारागार पठाउन माग गर्दै सर्वोच्चमा रिट दिएकी थिइन्।

रिट निवेदनमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला कारागार कार्यालय दाङ, जिल्ला प्रशासन कार्यालय दाङ र महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ काठमाडौंलाई विपक्षी बनाइएको छ।

रिगलले खुकुरी प्रहार गरी २९ असार २०७२ सालमा २९ वर्षीय चेतन मानन्धरको हत्या गरेका थिए। त्यसपछि कर्तव्य ज्यान मुद्दामा गुण्डा नाइके रिगललाई बाँके जिल्ला अदालतले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

भारतीले श्रीमानलाई न्यायका लागि दसैं लगत्तै फेरि काठमाडौंको माइतीघरमा अनशन सुरू गरेकी छन्। सर्वस्वसहित जन्मकैदको आदेश ठहर भएका तरूण दलका नेतासमेत रहेका रिगललाई आममाफी दिएपछि यसको चौतर्फी विरोध सुरू भएको छ।

  • १४ कार्तिक २०८०, मंगलवार १२:४२ प्रकाशित
  • Nabintech