२० बैशाख २०८१, बिहीबार
बाँकेमा पहिलो पटक गड्यौलाबाट मल उत्पादन सुरु
  • काँचुली खबर

१३ कात्तिक, नेपालगन्ज । बाँके जिल्लामा मल अभाव टार्न गड्यौलाबाट मलको उत्पादन गर्न सुरु गरिएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार आवश्यक परेको बेला रासायनिक मल नपाउने, पाएपनि पर्याप्त नहुने र त्यसले माटोको उत्पादकत्व क्षमतामा प्रतिकुल प्रभाव पारेको भन्दै जिल्लाका किसानहरु गड्यौला मलप्रति आकर्षित भएका हुन् ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमद खाँले सुरुमा परीक्षणका लागि सीमित किसानलाई गड्यौलाबाट मल उत्पादनका लागि सहयोग गरेको जानकारी दिदै परीक्षण सफल हुँदै गएकाले अब यसलाई बढाउँदै लगिने बताए ।

उनले भने, “यो मलले राम्रो काम गर्दै गएमा कार्यक्रम विस्तार गर्ने योजना रहेको छ, बढीभन्दा बढी उत्पादन गरेर वैकल्पिक मलको रुपमा प्रयोग गरिनेछ ।”

प्रमुख खाँले यसबाट उत्पादकत्व वृद्धि गर्ने र रासायनिक मलको मागसमेत घटने विश्वास रहेको जनाउँदै अबको खेती प्रणालीमा यसको प्रयोग आवश्यक भएको बताए । सो मल उत्पादनका लागि केन्द्रले चालु आर्थिक वर्षदेखि सात लाख रुपियाँ लगानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

साकार कृषि सहकारीका कृषि प्रमुख बलबहादुर सुनारले गड्यौलाबाट मल उत्पादन र त्यसको प्रयोगबाट किसानले लाभ प्राप्त गरे कृषि उत्पादनमा परिणाम राम्रो आउने बताए ।

उनले भने, “गड्यौलाबाट उत्पादित मलको प्रयोग गर्दा रासायनिक मलको माग घटने र माटोको उर्वराशक्ति बढेर उत्पादकत्व समेत वृद्धि हुनेछ ।”

कृषि ज्ञान केन्द्र नेपालगन्जका कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले बाँकेको राप्ती सोनारी गाउँपालिकाका २५, खजुरा गाउँपालिकाका ६ र नेपालगन्ज उपमहानगरपालिकाका दुई किसानलाई गड्यौलाबाट मल उत्पादनको तालिम दिएर उत्पादन गर्न प्रेरित गरिएको जानकारी दिए ।

उनले भने, “किसानहरु मल उत्पादनको सुरुवाती चरणमा हुनुहुन्छ, उत्पादन हुँदैगएपछि त्यसको प्रभाव बारे थाहा हुनेछ ।”

कृषि ज्ञान केन्द्रका अनुसार सुरुवातमा मल उत्पादन कार्यमा बाँकेका करिब ५२ किसान संलग्न छन् । केन्द्रले प्रतिकिसान चार किलोग्रामका दरले गड्यौला दिएको र एक किसानबाट ५० किलोसम्म मल उत्पादनको अपेक्षा लिएको जनाएको छ ।

राप्तीसोनारीका किसान नरेश कार्कीले विश्वासका आधारमा गड्यौलाबाट मल उत्पादन गर्न थालेको बताए । उनले उत्पादन र प्रयोगपछि प्राप्त परिणामले यसको प्रभावकारिता देखिने र सोही बमोजिम अगाडीको योजना बनाइने बताए ।

केन्द्रले मल उत्पादनका लागि किसानलाई गड्यौलाबाहेक, प्लास्टिकका भाँडा लगायत कृषि औजार पनि प्रदान गरेको जनाएको छ ।
गोरखापत्रबाट

  • १३ कार्तिक २०८०, सोमबार १८:२७ प्रकाशित
  • Nabintech