जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा छनौट
  • काँचुली खबर

४ कात्तिक, काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ ।

वर्षाले प्रभावित सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस पद्दतिमा १ सय ४४ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । अपराजित नेपाल प्रतियोगिताको फाइनलमा पुगेसँगै यू-१९ एसिया कपका लागि पनि छनोट भएको छ ।

नेपाल २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रनको स्थितिमा रहँदा वर्षाले खेल बाधक बनाएको थियो । त्यसपछि लामो समय वर्षा हुँदा जापानले २२ ओभरमा जितका लागि १ सय ८७ रनको लक्ष्य पाएको थियो । नेपालले ५० ओभर खेल्न ब्याटिङ सुरु गरेको र वर्षाले बिथोलेपछि डकवर्थ लेविस पद्दतिबाट जापानले सो लक्ष्य पाएको थियो ।

नेपालका लागि लागि ओपनर दीपक बोहोराले ७० बलमा ७९ रन जोडे । १० चौका र २ छक्का प्रहार गरेका उनी कज़ुमा काटोको बाउन्सरमा कट बिहाईन्ड भएका थिए ।

दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । त्यसअघि ओपनर अर्जुन कुमाल १० रनमा क्याच आउट भएका थिए । २३ बलमा १ चौका प्रहार गरेका उनी डिप स्क्वायर लेगमा क्याच आउट भएका थिए ।

हाल क्रिजमा रहेका आकाशले ३५ रन र कप्तान देव खनालले ८ रन जोड्दा आकाशले ४७ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

जवाफमा जापान ११.५ ओभरमा ४३ रनमा अलआउट भएको थियो । जापानका शोतारो हिरात्सुकाले १५ र किफ़र यामामोटोले १३ रन जोड्नुबाहेक अन्यले दोहोरो स्कोर जोड्न सकेनन् ।

नेपालका लागि हेमन्त धामी र दीपेश कंडेलले ३-३ विकेट लिए । सुभाष भण्डारीले २ र आकाश चन्दले १ विकेट हात पारे ।

नेपाल र जापान दुवै आ-आफ्नो समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए । नेपालले अब मंगलबार हुने फाइनलमा यूएईको सामना गर्नेछ । यूएईले अर्को सेमिफाइनलमा सिंगापुरलाई हराएको थियो ।

प्रतियोगिताको शीर्ष ३ टोलीले पाकिस्तानमा हुने यू-१९ एसिया कप खेल्नेछन् । नेपाल र यूएई एसिया कपमा पुगेका छन् । अब जापान र सिंगापुरले तेस्रो स्थान र एसिया कपमा स्थान बनाउन खेल्नेछन् ।

  • ४ कार्तिक २०८०, शनिबार १५:०३ प्रकाशित
  • Nabintech