बाँकेमा ५० प्रतिशत रोपाइँ
  • काँचुली खबर

वर्षा अनुकूल भएकाले यस वर्ष बाँकेमा धमाधम धान रोपाइँ भइरहेको छ । जिल्लामा अहिलेसम्म ५० प्रतिशत धान रोपाइँ भएको बताइएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष बाँकेमा ३६ हजार ५०० हेक्टर जमिनमा धान खेती गर्ने लक्ष्य छ । गत वर्ष पनि सोही क्षेत्रफलमा धानखेती गरिएको सो कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले बताए । यस वर्ष बाँकेमा करीव एक लाख १५ हजार मेट्रिक टन धान उत्पादन हुने कृषि कार्यालयको प्रारम्भिक अनुमान छ ।
बाँकेका किसानले राधा-४, सुख्खा-३, सावित्री, मन्सुली, रामधान लगायत जातको धान खेती गर्दै आएका छन । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका किसानलाई धान खेतीमा ५० प्रतिशत अनुदानमा धानको बीउ र रासायनिक मल अनुदानमा उपलब्ध गराउँदै आएको छ । त्यसैगरी गत वर्षको बाढीबाट प्रभावित बाँके गंगापुरका किसानलाई कृषि कार्यालयले निःशुल्क धानको बीउ र रासायनिक मल उपलब्ध गराएको प्रमुख बस्नेतले बताए ।

  • ४ श्रावण २०७५, शुक्रबार १३:५३ प्रकाशित
  • Nabintech