भरैयामा बाघ आतंक, १४ वटा चौपाया बाघले खाईदियो

दशैंमा बेच्न ठिक्क राखिएका १४ वटा खसी/बाख्रा बाघले खोरबाटै थुतेर खाईदियो

  • काँचुली खबर

२८ असोज, कोहलपुर । बाँकेमा फेरी बाघ आतंक सुरु भएको छ । बाँके राष्ट्रिय निकुञ्ज आसपासका वस्तीहरुमा बाघले आक्रमण गर्न थालेपछि यहाँका स्थानियहरु त्रसित भएका छन ।

शनिबार राती बाघले कोहलपुर नगरपालिका वडा नं. १३ भरैयामा आतंक मच्चाएको छ । राती अन्दाजी १० बजेको समयमा गाँउ पसेको बाघले दुई घरका १४ वटा खसी/बाख्रा मारीदिएको स्थानियले बताएका छन ।

बाघले दशैंकालागी बेच्ने तयारीमा रहेका १४ वटा खसी/बाख्रा खोरबाटै तानेर खाईदिएपछि गाँउमा त्रास फैलिएको कोहलपुर नगरपालिका वडा नं. १३ का वडाध्यक्ष डम्बर बहादुर खड्काले बताए । यसअघि समेत बिभिन्न समयमा गाँउमा बाघ पस्ने गरेको भएपनि यसपटक ठुलो क्षती गरेको खड्काले बताए ।

“पहिले पनि बिभिन्न समयमा बाघले गाँउ पसेर ३-४ वटा पशु चौपाया मार्दै आएको थियो”, वडाध्यक्ष खड्काले भने, “यस पटक ठुलो सँख्यामा क्षती पुर्याएको छ । जसले गर्दा स्थानियहरु थप त्रसित भएका छन ।”

२ वर्षअघि निकुञ्जबाट बस्ती पसेर आतंक मच्चाउने एउटा बाघलाई बाँके राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको थियो । बाघले दिनहुँजसो मानिस र पशु चौपायामाथि आक्रमण गर्नेक्रम नरोकिएपछि डिभिजन वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्जले बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिई चितवनमा लगेर छाडेको थियो ।

  • २८ आश्विन २०८०, आईतवार १२:३० प्रकाशित
  • Nabintech