१४ बैशाख २०८१, शुक्रबार
डा. केसीद्वारा पुरानै स्थानमा अनशन सुरु
  • काँचुली खबर

२० दिनदेखि जुम्लामा आमरण अनसन बसेका प्रा. डा. गोविन्द केसीलाई सरकारले बिहीबार सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याई शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ ।

डा. केसीलाई यातना दिने मनसायले हेलिकोप्टरमा ३ घण्टा २० मिनेट घुमाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा नरोकी टुडीखेलमा रोकेर सास्ती दिएको चिकित्सकहरुले आरोप लगाएका छन् ।  उनलाई लिन त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा कुरिरहेको थियो । चिकित्सा शिक्षा सर्वसाधारण जनताको पहुँचमा हुनुपर्ने माग राखी अनसनरत डा. केसीलाई मानसिक रुपमा दबाब दिएर त्रासमा पारी काठमाडौ ल्याइएको चिकित्सकहरूको दावी छ ।

उनलाई काठमाडौँ ल्याउने नाममा अनसन बसेको जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहानदेखि सुरक्षाकर्मीको तैनाथ गरी धरपकड, लाठी, अश्रुग्यास, गोली चलाएर बिरामी र बिरामी कुरुवालाई समेत घाइते बनाएको छ । उपचारका लागि आएका बिरामीलाई अस्पतालभित्र प्रवेश नै नदिई अन्धाधुन्घ लाठी र अश्रुग्यास हान्नुका साथै प्रहरीले गोली समेत चलाएको थियो ।

यता त्रिबि शिक्षण अस्पताललाई सुरक्षा घेराभित्र राखिएको थियो । अस्पताल परिसरमा दिउसैदेखि चिकित्सक, शुभचिन्तक, विद्यार्थी, नागरिक समाज, संचारकर्मीहरुको भीड लागेको थियो । यति ठूलो संख्यामा जनमानसको भीडदेखि अतालिएको सरकारले डा. केसीलाई टुडखेलमा लगेर रातपरेपछि झारेको भन्दै नागरिक समाजका अगुवाहरुले कडा टिप्पणी गरेका छन् । आक्रोसित सर्वसाधारणले यस्तो सरकार चाहिन्न जनतालाई अनावश्यक दुःख दिन पाइन्न भन्दै बिरोध समेत गरेका थिए ।

उनी विगतमा झैँ उक्त अस्पतालको गणेशमान भवनमा अनसन बसेका छन । आइसीयूमा बस्न नमानेपछि उनलाई सोही स्थानमा राखिएको हो । डा. के.सी. को स्वास्थ्यलाई ध्यानमा राखी अनसनस्थलमा मोनिटर, अक्सिजन लगायतको सम्पूर्ण व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

यता नेपाल चिकित्सक संघले अर्को निर्णय नहुँदासम्मका लागि प्रत्येक दिन एक घण्टा माइतीघर मण्डलामा बिरोध कार्यक्रम जारी राख्ने जनाएको छ । बिहीबारको विरोधका क्रममा चिकित्सकहरूले आकस्मिक बाहेकका स्वास्थ्य सेवाहरु बन्द गरेका थिए । विरोध र्याली माइतीघर मण्डला हुँदै बानेश्वरसम्म निस्किएको थियो । र्यालीमा चिकित्सकसहित, प्राध्यापक र अन्य पेशागतका जनसमुदाय उपस्थित भएका थिए ।

संघले अर्को निर्णय नहुन्जेलसम्म १ घण्टा धर्ना गर्ने जनाएको छ । डा. के.सी.को जीवन रक्षार्थ यथासिघ्र ठोस कदम अगाडी नबढाइए आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी दिएको छ ।

यसैबीच प्रहरी प्रधान कार्यालयले डा।केसीलाई काठमाडौँ ल्याउने क्रममा भएको झडपमा प्रहरी जवान कमल आचार्यको छातीमा सिसा लागेको र चिर्पटको किला गडेकाले उपचार भइरहेको जनाएको छ । सो कार्यालयद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा केही समाचार माध्यममा आएको प्रहरी जवानको मृत्यु भन्ने समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यस्ता विषयमा समाचार सम्प्रेषण गर्दा संवेदनशील र जवाफदेही बन्न आग्रह गरिएको छ ।

महासघंद्वारा निन्दा

नेपाल पत्रकार महासंघले जुम्लामा अनसनरत डा. गोविन्द केसी को अनसनको समर्थनमा भएको आन्दोलनको समाचार संकलनका क्रममा पत्रकारमाथि सुरक्षाकर्मीबाट भएको दुव्र्यवहार र कुटपिटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाचार संकलनका क्रममा सुरक्षाकर्मीको पिटाइबाट कान्तिपुरका सम्वाददता एलपी देवकोटाको ढाड र खुट्टा तथा एपीवान टेलिभिजनका सम्वाददाता प्रकाश उपाध्यायको ढाडमा चोट लागेको महासंघद्वारा बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

महासंघका महासचिव रमेश विष्टको नाममा जारी विज्ञप्तिमा सुरक्षाकर्मीबाट भएको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएकाले पत्रकारको पेशागत स्वतन्त्रतालाई हतोत्साहित बनाउने उक्त घटनाको कडा भत्र्सना गरेको छ ।

 

  • ४ श्रावण २०७५, शुक्रबार ०७:३५ प्रकाशित
  • Nabintech