२० बैशाख २०८१, बिहीबार
बाँके र बर्दियाको धान खेतीमा बेरुवाको प्रकोप, किसान चिन्तित
  • काँचुली खबर

२२ असोज, कोहलपुर । बाँके र बर्दियामा लगाइएको धान खेतीमा बेरुवा, खैरे थोप्लो र सेतो झिँगाको प्रकोप बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । बाँके र बर्दिया जिल्लालाई हेर्दैआएको कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार बाँके र बर्दियाका केही पालिकामा धानखेतीमा सो समस्या देखिएको हो ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका बागवानी अधिकृत रामप्रकाश यादवले अहिले आएर धान खेतीमा नयाँ किराको प्रकोप देखिएपछि किसानलाई चिन्तित बनाएको बताए ।

उनले बाँकेको डुडुवा गाउँपालिकाको कम्दीमा बेरुवा किराको सङ्क्रमण धेरै देखिएका छन् । धानको पातमा बेरुवाको सङ्क्रमण भएपछि लार्भामार्फत धानको पात बेरेर क्षति गरेको यादवको भनाइ छ । यसलाई समयमा नै नियन्त्रण नगरे थप क्षति हुने सम्भावना छ ।

यसैगरी बाली संरक्षण प्रयोगशाला खजुराका प्रमुख उमाशङ्कर पौडेलले बर्दियामा लगाइएको धान खेतीमा खैरे थोप्लो र सेतो झिँगाको प्रकोप देखिएको जानकारी दिए । उनका अनुसार जिल्लाको गेरुवा गाउँपालिका, ठाकुरबाबा र बाँसगढी नगरपालिकामा खैरे थोप्लो र सेतो झिँगाको समस्या देखिएको छ ।

प्रमुख पौडेलले रोग र किराको समस्या देखिएको स्थानमा रोग नियन्त्रणका उपायबारे किसानलाई जानकारी दिने काम भइरहेको बताए । कृषि ज्ञान केन्द्रका अनुसार यसअघि नेपालगन्ज उपमहानगरपालिका आसपास, डुडुवा लगायतका क्षेत्रमा गबारोको समस्या देखिएको थियो ।

  • २२ आश्विन २०८०, सोमबार १३:४८ प्रकाशित
  • Nabintech