२७ बैशाख २०८१, बिहीबार
बझाङमा एक दिनमै ७ पटक भुकम्पको धक्का, १३ जना घाईते
  • काँचुली खबर

१६ असोज, कोहलपुर । बझाङमा केन्द्रविन्दु भएर आज मंगलबार पटक पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको थियो ।

त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन पहिलो थियो । ३ बजेर ६ मिनेटको मेनसकपछि ४ रेक्टरमाथिका ३-४ वटा पराकम्प गएका छन्,’ केन्द्रका भूकम्पविद् चिन्तन तिम्सिनाले भने, ‘४ रेक्टरभन्दा कमका त थुप्रै पराकम्प गएका छन् ।’

केन्द्रका अनुसार ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको तथा बेलुकी ५ बजेर १९ मिनेट र ५ बजेर ३८ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।

भूकम्प कुनै सूचना वा पूर्वसूचना दिएर आउँदैन, एकै दिन धेरै पटक भूकम्प गए पनि आफूहरुले जोखिम घट्यो बढ्यो केही भन्न नसक्ने उनले बताए ।

भूकम्पविद्हरूका अनुसार दक्षिणबाट सर्दै आएको ‘इन्डियन प्लेट’ उत्तरको ‘युरेसियन प्लेट’ को मुनि घुस्रिन खोज्ने क्षेत्रमै नेपाल पर्छ । दुई प्लेटबीचको घर्षणका कारण नेपाल सधैं भुइँचालो जान सक्ने अधिक जोखिमको क्षेत्रमा छ । भुइँचालो नगएको क्षेत्रको भूगर्भमा शक्ति सञ्चित भएर बस्छ र कुनै पनि बेला ठूलो भूकम्प जाने खतरा हुन्छ ।

भूकम्पविद्हरूका अनुसार मध्य नेपालमा २०० वर्षभन्दा कम समय अवधिमा ठूला भूकम्प गएका छन् भने पूर्वी नेपालमा १९९० सालपछि ठूलो भूकम्प गएको छैन ।

२०७२ सालमा भूकम्प गएको गोरखा पश्चिमको क्षेत्रमा सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन । जमिनमुनि जति बढी समयसम्म ऊर्जा सञ्चित हुन्छ, भूकम्प त्यति नै बढी शक्तिशाली हुने भूगर्भविद्हरू बताउँछन् । त्यसैले पूर्वमा कम शक्तिशाली र पश्चिममा बढी शक्तिशाली भूकम्प जान सक्ने जोखिको क्षेत्रमा छ ।

बझाङमा गएको भूकम्पका कारण १३ जना घाइते भएका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरतबहादुर शाहले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको उनले बताए ।

भूकम्पका कारण जिल्लाका २० भन्दा बढी संरचना भत्किएका छन् ।

  • १६ आश्विन २०८०, मंगलवार १८:४७ प्रकाशित
  • Nabintech