१६ बैशाख २०८१, आईतवार
नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु जारी
  • काँचुली खबर

१६ असोज, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा कर्फ्यु आदेश जारी गरेको छ । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो ।

हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्‍यालीले बजार परिक्रमा गरेको छ । ठूलो संख्यामा निस्किएको र्‍यालीमा घरमाथिबाट ढुंगा र ईंटा प्रहार भएको र स्थिति असामान्य भएपछि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

धार्मिक सदभावको सहरका रुपमा परिचित नेपालगन्जमा विगत दुई दिनदेखि तनाव सिर्जना भइरहेको छ । मोहम्मद डेको दिन एक स्थानीय व्यक्तिले सामाजिक संजालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएपछि नेपालगन्ज अशान्त बनेको हो । उक्त अभिव्यक्तिले इस्लाम धर्ममा आस्था राख्नेहरुलाई चोट पुराएको भन्दै दुई दिन अघि नेपालगन्जमा टाएर बालेर उनीहरुले जिल्ला प्रशासनमा नारावाजी गरेका थिए । त्यसको प्रतिवादमा आज हिन्दु धर्ममा आस्था राख्नेहरुले प्रर्दशन गरेपछि नेपालगन्ज थप अशान्त बनेको हो ।

अहिले नेपालगन्जको मुख्य बजार क्षेत्रमा ठुलो सँख्यामा प्रहरी परिचालन गरीएको छ । प्रहरी नायब उपरीक्षक नारायण डाँगीको नेतृत्वमा ५ सय बढी प्रहरीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । १०० बढी संख्यामा सशस्त्र प्रहरीहरु पनि परिचालित छन् ।

आज नेपालगन्ज बजार बन्द गरीएको छ । पसलहरु सबै बन्द छन् । विद्यालय पनि खुलेका छैनन् । स्थितिलाई सहज बनाउन सम्बद्ध सरोकारवालाहरु लागि परेका छन् ।

यसैबिच आजै बिहान नेपालगन्जमा धर्मगुरु सम्मेलित सदभाव र्‍याली निकालिएको थियो । धार्मिक सदभाव समितिको अगुवाईमा गरिएको सद्भाव र्‍यालीमा धर्मगुरुहरू, राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, पेसाकर्मी, राष्ट्रसेवक कर्मचारीलगायतको सहभागीता रहेको थियो ।

  • १६ आश्विन २०८०, मंगलवार १३:०६ प्रकाशित
  • Nabintech