११ बैशाख २०८१, मंगलवार
मुक्तिको आभास गर्न नपाएको कमैयाहरुको गुनासो
  • काँचुली खबर

फाईल तस्बीर ।

 

सरकारले कमैया मुक्त घोषणा गरेको १८ बर्ष बितेपनि आफुहरुले मुक्त भएको आभास गर्न नपाएको बाँकेका मुक्त कमैयाहरुले गुनासो गरेका छन । २०५७ श्रावण २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बाँके, बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुरमा रहेका सम्पुर्ण कमैयाहरुलाई मुक्त भएको घोषणा गरेको थियो ।
त्यति मात्र नभई सरकारले २०६५ सालमा मुक्त कमैयारहीत जिल्ला भनेर बाँके दाङ्ग र कन्चनपुरलाई घोषणा ग¥यो । तर मुक्त कमैया रहित जिल्ला घोषणा गरेको बाँकेमा अझैपनि ३ हजार ५०० बढि मुक्त कमैयाको पुर्नसथापना गर्न बाँकी रहेको मुक्तकमैयासँग सम्बन्धित संघसंस्थाहरुले दावी गर्छन् ।
मुक्त कमैयाको व्यवस्थापन नहुँदै कमैया रहित जिल्ला घोषणा गरिएको भन्दै तत्काल उक्त निर्णय फिर्ता लिई गणनाबाट छुटेका कमैयाहरुको छानबिन गरीनुपर्ने मुक्त कमैयाहरुको माग छ । पुनस्र्थापित मुक्त कमैया परिवार मध्ये बाँकेमा १ हजार ७ सय ४३ ले घर बनाउन दिने भनिएको ३५ क्यूफिट काठ र ४०० बढि परिवारले प्रति परिवार घर बनाउन सरकारले दिने भनेको ५० हजार समेत अझैसम्म पनि अनुदान नपाएको गुनासो छ मुक्त कमैया संघर्ष समिती प्रदेश नं. ५ प्रदेशका संयोजक फत्तु थारुको ।
मुक्त कमैयाको अधिकारकालागि काम गर्ने संस्था कमासु दिगो विकास समाजका अनुसार बर्दियामा अझै करिब २ हजार जना मुक्त कमैया पहिचान हुनबाट बञ्चित भएका छन भने बाँकेमा ३ देखि १५ धुरसम्मको लालपुर्जा भएकाहरुको जग्गा पहिचान हुन सकेको छैन् । मुक्त कमैया समाजका अनुसार जग्गाधनी पुर्जा पाएका तर जग्गा थाह नपाएका ५० बढि घर परिवार रहेका छन् ।
बाँकेको कोहलपुर चौराह नजिकैको लोकनगरमा ७ बर्षअघि देखि बसोबास गर्दै आईरहेका मुक्त कमैयालाई सरकारले जग्गाधनी प्रमाणपत्र उपलब्ध गराएपनि केहि मुक्त कमैयाहरुले अहिलेसम्म आफ्नो नाममा भएको जग्गा पहिचान गर्न सकेका छैनन् । लोकनगरमा रहेका ८ सय ३६ मुक्तकमैया परिवारलाई सरकारले २०६५ चैत्र ४ गते १० देखि १६ धुर सम्म जग्गा उपलब्ध गराएको थियो । कमैयालाई मुक्त गरी सामान्य आधारभुत आवश्यकता समेत राज्यले पुरा गर्न नसकेको कमैयाहरुको गुनासो छ ।
कोहलपुर नगरपालीकाका प्रमुख लुटबहादुर रावतले नगरपालीका भित्र रहेका मुक्त कमैयाहरुका लागी आवश्यक आधारभुत आवश्यकताहरुको ब्यवस्था गर्दै मुक्त कमैयाको आयआर्जन बढाउने योजना बनाएको बताए ।
जिल्ला भुमिसुधार कार्यालय बाँकेका अनुसार बाँकेमा २ हजार २ सय ६७ मुक्त कमैया भएकोमा क र ख बर्गका १ हजार ८ सय ३८ परिवारवालाई २०६५ साल अगाडि नै पुनस्र्थापना गरिएको छ ।
बाँकी परिवारसँग जग्गाधनी प्रमाणपुर्जा भएका कारण उनिहरुलाई पुनस्र्थापना गर्न नपर्ने कार्यालयले जनाएको छ । मुक्त कमैया समाज बाँकेका अनुसार २०५९ सालमा भएको लगतमा छुटेका २ हजार ६०९ जना मुक्त कमैयाको बास्तविक लगत लिन अझै पनी बाँकी छ ।

  • २ श्रावण २०७५, बुधबार १८:५७ प्रकाशित
  • Nabintech