२२ बैशाख २०८१, शनिबार
एसिया कप : आज पाकिस्तानसँग भिड्दै नेपाल
  • काँचुली खबर

१३ भदाै, काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आज (बुधबार) देखि सुरु हुँदैछ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी नेपालले पहिलो वरियताको पाकिस्तानसँग भिडन्त गर्दैछ ।

एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । पाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता हो । एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहेको पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ ।

नेपालको तुलनामा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै लामो इतिहास बोकेको पाकिस्तान शक्तिशाली टेस्ट राष्ट्र पनि हो । अहिले पनि पाकिस्तानी खेलाडीको नाममा विश्व क्रिकेटका थुप्रै कीर्तिमान छन् ।

एसिया कप सुरु हुनुभन्दा केहीअघि मात्र पाकिस्तान आईसीसी एकदिवसीय वरियताको पहिलो स्थानमा उक्लिएको छ ।

नेपाल भने आईसीसी एकदिवसीय वरियताको १५औं स्थानमा छ । यसपटक एसिया कपमा सहभागी ६ राष्ट्रमध्ये नेपाल सबैभन्दा तल्लो वरियतामा रहेको छ । यसका अतिरिक्त पाकिस्तानले मुल्तानस्थित घरेलु मैदानमा प्रतियोगिता खेल्ने अवसर पाएको छ भने नेपालका लागि रंगशालाको चरित्र पनि नौलो हुनेछ ।

यी सम्पूर्ण तथ्याङ्क र परिस्थितिले के देखाउँछ भने, बुधबार हुने एसिया कपको उद्घाटन खेलमा पाकिस्तानका लागि नेपाल निकै कमजोर प्रतिद्वन्द्वी हो । कम्तिमा पनि इतिहासले यही भन्छ ।

यो एसिया कपको समूहगत चरणमा नेपालका दुबै प्रतिद्वन्द्वी उस्तै छन् । समूह ‘ए’ मा रहेको नेपालको दोस्रो प्रतिद्वन्द्वी भनेको भारत हो । दुई पटकको एकदिवसीय विश्वकप विजेता र सर्वाधिक सात पटकको एसिया कप च्याम्पियन हो, भारत । विश्व क्रिकेटकै हस्ती भारतसँग नेपालले भदौ १८ गते श्रीलंकाको केन्डीमा आफ्नो दोस्रो खेल खेल्नेछ ।

  • १३ भाद्र २०८०, बुधबार ०८:१९ प्रकाशित
  • Nabintech