१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा पुनः जागृत हुँदै खेलकुद
  • काँचुली खबर

२२ वर्षपछि गत वैशाख (८–१५) मा नेपालगञ्ज उपमहानगरपालिकाकै आयोजनामा रात्रिकालीन कबड्डी प्रतियोगिता भयो । नगर प्रमुख डा. धवल शम्शेर राणा खेलाडीलाई हौसला बढाउन आफैं खेलाडी बनेर मैदानमा उत्रिए । यसले कबड्डीमा रक्तसञ्चार गरी वडा वडामा प्रतियोगिता भए । कबड्डीका पूर्वखेलाडी समेत रहेका नेपालगञ्ज-४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहना भन्छन, ‘बिर्सन लागेको देशको मौलिक खेल ‘कबड्डी’लाई पुनर्जागृत गरेर खेलकुदको विकासमा एउटा आयाम थप्ने काम भएको छ ।’
बाँके जिल्ला फुटबल संघ (एन्फा) ले उपमहानगरसँग सहकार्य गरेर जेठ (२१-२६) मा तेस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता सम्पन्न ग¥यो । ‘ए’ डिभिजनका खेलाडीलाई खजुराको डीगाउँको खेल मैदानमा उतार्नु चानचुने कुरा थिएन । एन्फा बाँके अध्यक्ष भोजराज शाही गाउँमै प्रतियोगिता गराउँदा फुटबल क्रेज अझ बढेको बताउँछन् ।
नेपालमै पहिलोपटक अक्सन विधिमा टिम छनोट गरी ‘नेपालगञ्ज कप क्रिकेट प्रतियोगिता’ वैशाख (३-१२) कोहलपुरमा आयोजना गरियो । आयोजक ग्रीन इभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफी खेलाडीको मात्र अक्सन हुने गरेकोमा टिम अक्सनको सुरुवात नै ‘क्रिकेटमा नयाँ आयाम’ भएको दाबी गर्छन् ।
९ असारमा उपमहानगरपालिकाकै आयोजना र नेपालगञ्ज साइक्लिङ्ग क्लवको व्यवस्थापनमा ‘प्रथम मेयर कप साइकल दौड प्रतियोगिता’ भयो । ‘स्वस्थ रहन प्रेरित गर्न, पर्यटन प्रवद्र्धन गर्न र नेपालगञ्जमा बढ्दो प्रदुषण कम गरी वातावरणमैत्री र मितव्ययी बन्ने प्रतियोगिताले सन्देश दिएको छ’, क्लवका अध्यक्ष केशरबहादुर आले जिकिर गरे ।
बाँके जिल्ला भलिबल संघले २०७० देखि शुरु गरेको ‘प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता’ पाँचौं संस्करणसम्म पुगेको छ ।
संघका अध्यक्ष टि.एस. ठकुरी ‘देश बाहिरका टिम पनि सहभागी हुने हुँदा नेपालगञ्जलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रतियोगिता सफल भएको’ दाबी गर्छन् ।
हरेक बर्ष मंसिर ५ मा हुने नेपालगञ्ज म्याराथन पनि राष्ट्रिय खेलाडीहरुले सहभागिता जनाउने सम्भवतः राजधानीपछिको ठूलो प्रतियोगिता हो । विजेताले ५५ हजार नगद पाउँछन् ।


आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर २० वर्षपछि बाँकेले दोस्रो पटक पाएको छ । यसअघि २०५५ मा चौथो प्रतियोगिता भएको थियो । मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओली नेपालगञ्जले यो अवसर पाउनु अहोभाग्य भएको ठान्दै भन्छन, ‘प्रतियोगिताले खेलका भौतिक संरचनाहरु निर्माण र पुनर्निमाण हुने मेलो जुराइदिएको छ ।’
नेपालगञ्ज शहर केन्द्रित खेल प्रतियोगिताका दृष्टान्त हुन, यी । यही शहरले विगतमा विभिन्न खेलका ‘महारथी’ जन्माएको छ । सन् १९८३ मा भएको एशियन च्याम्पियनशिपमा भारत्तोलनबाट देशलाई कास्य पदक दिलाएका सुरेन्द्र हमालले सन् १९८४ को ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए । एशियन खेलमा नेपालका लागि विरलै पदक भित्रिन्छन् तर उनले कास्य दिलाए । समसुद्दिन सिद्दिकीले पनि दक्षिण एशियाली खेलमा भारत्तोलनबाट नेपाललाई रजत पदक दिलाएका थिए ।
सन् १९८८ की सुटिङ्गकी ओलम्पियन पार्वती थापा बाँके कै चेली हुन् । सन् १९९२ दक्षिण एशियाली खेलकुदमा सुटिङ्गमा स्वर्ण पदक विजेता अनिता श्रेष्ठ यहीकी प्रतिभा हुन् ।
कुनै बेला क्रिकेटमा पनि बाँके उर्वरभूमि थियो । नेपालको राष्ट्रिय क्रिकेटको टिमको कप्तान थिए, एलबी क्षेत्री । महिला राष्ट्रिय क्रिकेटको पहिलो कप्तान नेरी थापा र उपकप्तान ममता थापा बनेर इतिहास रचे । महिला क्रिकेट टिममा बाँकेबाट मात्रै ७ जनासम्म खेलाडी परेका थिए । महेश क्षेत्रीले पनि राष्ट्रिय क्रिकेटमा दबदबा कायम राखे ।
भलिबलमा तीर्थमान श्रेष्ठ, राजुराज शाही, राकेश श्रीवास्तव, दीपक सापकोटाले राष्ट्रिय, अन्तराष्ट्रिय खेल खेले । दीपबहादुर महतरा त नेपालको उत्कृष्ट फुटबल क्लब मनाङ्ग मस्र्याङ्गदीबाट ए डिभिजनमा आबद्ध भए ।


नेपालगञ्ज अहिले विगतको गर्विलो इतिहास फर्काउन कसरत गरिरहेको छ । ‘एक बर्षअघिसम्म सून्य जस्तै रहेका खेलकुद प्रतियोगिताहरु जनप्रतिनिधि आएसँगै खेलकुदको गति र आकर्षण बढेको छ’, खेलप्रेमी युवा आशिष थापा भन्छन् ।
हुन त उपमहानगरको नेतृत्व नै खेल पृष्ठभूमिको छ । नगर प्रमुख डा. धवल शमशेर राणा हक्कीका खेलाडी हुन् । उपप्रमुख उमा थापामगर सफ्ट टेनिसकी राष्ट्रिय खेलाडी हुन् । उनी फुटबल, टेबलटेनिस र मार्शल आर्ट्समा पनि दख्खल राख्छिन् । वडा नम्बर २ का वडा अध्यक्ष सुनिलसिंह हमाल पूर्व क्रिकेटर एवं अम्पायर समेत हुन् । यही कारण उपमहानगरका जनप्रतिनिधि को खेलकुदमा गज्जबको ‘ट्यूनिङ्ग’ देखिन्छ । नगरमा प्रतियोगितात्मकदेखि मैत्रीपूर्ण खेल भइरहेका छन् । वडावडामा खेल सामग्री वितरणमा भएका छन् ।
व्याडमिन्टन, क्रिकेट, फुटबल, कबड्डी, भलिबल प्रतियोगिताले गति लिइरहेको छ । ‘मेयर कप’ प्रतियोगितामा जोड दिइएको छ । ‘हामी बाँकेको खेल इतिहास ब्यूँताउने योजना वद्ध प्रयासमा छौं’, उपप्रमुख थापामगर भन्छिन, ‘महिला क्रिकेटमा बाँकेलाई पुरानै अवस्थामा फर्काउन छात्रा क्रिकेटलाई बढावा दिने विशेष योजना छ ।’ खेल पत्रकार टिएस ठकुरी टिप्पणी गर्छन, ‘इतिहास जति गर्विलो, खँदिलो र प्रेरणादायी छ । खेलकुदमय बन्दै गएको बाँकेले फेरि ‘जगजगी’ कायम गर्ने असवर प्रसस्त देखिन्छ ।’

स्रोत : नेपालगञ्ज उपमहानगरको शहर फिचर सेवा

  • २ श्रावण २०७५, बुधबार १६:५८ प्रकाशित
  • Nabintech