२० बैशाख २०८१, बिहीबार
बाँकेमा ९५ प्रतिशत राेपाई सम्पन्न, उत्पादन बढ्ने अपेक्षा
  • काँचुली खबर

३२ साउन, नेपालगन्ज बाँकेमा हालसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । वर्षा नहुँदा रोपाइँ ढिलोगरी सुरु भए पनि साउन सकिन लाग्दा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएकाे कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकील अहमदका अनुसार वर्षा नहुँदा एक साता पहिलेसम्म मात्र निकै कम रोपाइँ भएको यस क्षेत्रमा केही दिन यता निरन्तर वर्षा भएपछि हालसम्म ९५ प्रतिशत रोपाइँ सकिएको हो ।

प्रमुख अहमदले समयमा वर्षा नहुँदा रोपाइँ पनि समयमा सम्पन्न गर्न नसकिएकाले उत्पादन घट्ने चिन्तामा रहेका यहाँका किसानले अहिले वर्षा भएपछि रोपाइँ पूरा गरेर राहत महसुस गरेका छन ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार केही समय पहिलेसम्म नरैनापुरमा सबैभन्दा कम रोपाइँ भएकाले यस वर्ष पनि सुख्खा हुने सम्भावना बढ्दै गएका बेला वर्षा भएपछि सो क्षेत्रमा रोपाइँ सकिन लागेको छ ।

यसअघि वर्षा नहुँदा सिक्टा सिंचाइ आयोजनाको नहर पुगेको क्षेत्र र कृषि ज्ञान केन्द्रकाे स्यालो ट्युबवेलमार्फत सिंचाइ सुविधा पुगेको क्षेत्रमा मात्रै रोपाइँ हुन सकेको थियो ।

सिक्टा सिंचाइ आयोजनाले गर्दा किसानलाई ठूलो राहत भए पनि धेरै ठाउँमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताले गर्दा किसान चिन्तित बनेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सबैभन्दा बढी धान उत्पादन हुने जिल्लामध्येकाे एक बाँकेमा ३६ हजार पाँच सय हेक्टर जमिनमा धानखेती हुनेगरेको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।

  • ३२ श्रावण २०८०, बिहीबार १९:१० प्रकाशित
  • Nabintech