८ बैशाख २०८१, शनिबार
कोहलपुर नगरपालिकालाई ज्ञापन-पत्र हस्तान्त्रण
  • काँचुली खबर

नेपाल तरुण दल कोहलपुर नगर कार्य समितिले बिभिन्न माग राख्दै कोहलपुर नगरपालिका कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । “नेपाल तरुण दलको पहिचान, भ्रष्टाचार बिरोधी हाम्रो अभियान” भन्ने नाराकासाथ मंगलबार नगरपालिका कार्यालय पुगेका तरुण दलका पदाधिकारीहरुले नगरपालिकाका प्रमुख लुटबहादुर रावतलाई ३ बुँदे ज्ञापन-पत्र बुझाएका हुन ।
कोहलपुरलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने, नगरभित्र सर्पदंश उपचार केन्द्र स्थापित गर्नुपर्ने र छाडा पशु चौपायाहरुलाई नियन्त्रण गरि ब्यवस्थित गरिनुपर्ने माग सहितको ज्ञापन-पत्र बुझाईएको तरुण दल कोहलपुर नगर कार्य समितिका अध्यक्ष हरीसिंह कठायतले जानकारी दिए ।
कोहलपुर नगरपालिका भित्रका सम्पूर्ण सरकारी, गैरसरकारी तथा बिभिन्न संघसंस्थाहरुलाई भ्रष्टाचारमुक्त बनाउन कोहलपुर नगरपालिकाले अभियान संचालन गरिनुपर्ने र त्यसकालागि तरुण दल कोहलपुर नगरकमिटि सधै तत्पर रहेको ज्ञापन-पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी वर्षायामसँगै सर्पदंशका घटनाहरुमा बृद्धि भएको भन्दै कोहलपुर नगरपालिका भित्र सर्पदंश उपचार केन्द्र स्थापनाकालागि तरुण दलले विशेष माग गरेको नगर अध्यक्ष कठायतले बताए । उनले सिङ्गो जिल्लाभरि भेरी अन्चल अस्पतालमा मात्र सर्पदंश उपचार केन्द्र रहेको भएपनि त्यो सबैको पहुँचमा नरहेकाले कोहलपुरमा एउटा उपचार केन्द्र आवश्यक रहेको बताए ।
कठायतले कोहलपुर क्षेत्रमा अनियन्त्रीत रुपमा बढ्दै गएको छाडा पशुचौपायाको समस्या हल गर्न समेत नगरपालिका कार्यालयलाई आग्रह गरिएको जानकारी दिए । सडक दुर्घटनाका कारण हरेक दिन राष्ट्रिय जनावर गाईको हत्या हुँदै आएको भन्दै छाडा पशुचौपाया नियन्त्रणकालागि ठोस कदम चाल्न तरुण दल नगर कार्य समितिले माग गरेको छ ।

 

  • १ श्रावण २०७५, मंगलवार १६:४२ प्रकाशित
  • Nabintech