१७ बैशाख २०८१, सोमबार
स्मार्ट एग्रो हब : जसले रुकुममा झोल युरिया भित्रायो
  • काँचुली खबर

२५ असार, रुकुम । रुकुम पश्चिमको खलंगामा स्मार्ट एग्रो हब संचालनमा आएको छ । जिल्ला सदरमुकाम मुसिकोट खलंगाको तल्लो बजारमा झोल युरिया बिक्रि गर्ने गरी मुसिकोट १३ की सीताकुमारी रोकाले स्मार्ट एग्रो हब संचालनमा ल्याएकी हुन । हबको सोमबार रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले उद्घाटन गरेका छन ।

देशमा वर्षेनी युरिया मलको अभाव हुने गरेको छ । समयमै मल ढुवानी नहुँदा किसानले सिजनमा युरिया लगायतको मल पाउन सकिरहेका छैनन् । जसका कारण कृषकहरु मर्कामा पर्दै आएका छन । छिमेकी देश भारतमा झोल युरिया मल उत्पादन सुरु भएसँगै नेपालमा पनि यसको बिक्रि सुरु गरीएको छ । यद्यपी सिमावर्ती बजारहरुमा मात्र पाईने झोल युरिया मल पहिलो पटक रुकुममा समेत उपलब्ध हुने भएको छ ।

कृषिको आधुनिकिकरण र यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने अभियानमा सहयोग पुर्याउने उद्देश्यले स्मार्ट एग्रो हब संचालनमा ल्याएको संचालक रोकाले बताईन। दाना युरियाको तुलनामा झोल युरिया सस्तो पर्ने उनको भनाई छ । आधा लिटरको एक बोतल युरियालाई ४ सय २५ रुपैयाँ पर्ने र एक बोतल झोल युरिया एक बोरा दाना युरिया बराबर हुने संचालक रोकाले बताईन ।

झोल युरिया पानीमा मिसाएर स्प्रे मेसिनको मद्धतले बालीको पातमा राख्नु पर्छ । यसको प्रभाव दाना युरियाको तुलनामा बढी हुने बताइएको छ । दाना युरिया सिधा माटोमा हालिने भएका कारण त्यसले माटोमा पनि असर गर्ने तर झोल युरिया पातमा हाल्ने भएका कारण माटोमा असर नपर्ने तथा दाना युरिया ७० प्रतिशत खेर जाने गरेकोमा झोल युरिया भने १५ प्रतिशत मात्र खेर जाने बताइएको छ । भारतमा उत्पादन भएको झोल युरिया नेपालमा चौधरी ग्रुप ९सिजी०ले बिक्रि गरिरहेको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला रोका, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द केसी, कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसी, पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्मा, माओवादी केन्द्रका नेता धनबिर ओली, खलंगा बजारका व्यापारी तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

  • २५ असार २०८०, सोमबार १७:३७ प्रकाशित
  • Nabintech