८ बैशाख २०८१, शनिबार
भारतबाट ल्याउने मुर्रा राँगाको वास्तविकता के हो ? किन भईरहेछ चर्चा ?

कृषि मन्त्रालयले दुई वर्ष अघिदेखि नै यस प्रजातिको राँगा ३० वटा प्रस्ताव गरेको थियो ।

  • काँचुली खबर

२१ जेठ, काठमाण्डौं । नेपाल र छिमेकी मुलुक भारतबीच नेपाललाई १५ वटा मुर्रा राँगा उपलब्ध गराउने सम्झौता भएपछि अहिले नेपालमा त्यसको चर्चा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणसँगै नेपालस्थित भारतीय दूतावासले मुर्रा राँगा उपलब्ध गराउने सम्बन्धमा प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एवम् योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव प्रकाशकुमार सन्जेलले यस सम्बन्धमा परराष्ट्र मन्त्रालयमा सचिवस्तरमा थप कुराकानी भइरहेको बताए ।

प्रवक्ता सन्जेलले भने, “यस सम्बन्धमा परराष्ट्रसँग कुरा गर्दैछौं । प्राविधिक कुरा के हो भने त्यो भैँसी होइन, मुर्रा भनेको एक प्रकारको राँगा हो । त्यो जेनेटिक अर्थात् नस्ल सुधारको लागि हो । कुनै खपत वा दूध उत्पादनका लागि होइन । यसकारण १५ वटा भनेको उल्लेख्य हो ।”

भैँसीको मुर्रा जातको बलियो मांसपेशी शरीर संरचना रहेका भारी काम र कृषि कार्यका लागि महत्त्वपूर्ण छ । उनले भने, “भारतीय राजदूतावासले त्यो विज्ञप्ति निकाल्यो । परराष्ट्रसँग कुरा गरिरहेका छौँ त्यसपछि औपचारिक प्रेस विज्ञप्ति निकाल्छौँ । बाहिर भनिएजस्तो जाबो १५ वटा मात्रै भन्ने होइन, यसको ठुलो महत्त्व छ । हाम्रो तर्फबाट केही स्पष्टीकरण आवश्यक भए त्यो पनि निकाल्छौँ ।”

कृषि मन्त्रालयले दुई वर्ष अघिदेखि नै यस प्रजातिको राँगा ३० वटा प्रस्ताव गरेको थियो । “यसलाई जेनेटिक मेटरियल भनिन्छ । आनुवंशिक स्रोत हो यो । त्यसैले सितिमिति कसैले पनि उपलब्ध गराउँदैन । किनेर पाइँदैन” उनले भने, “अब प्राविधिक टोली त्यहाँको १५ वटाको गुणस्तर हेर्न जान्छ । प्राविधिक सहायताको रूपमा स्वीकार गर्ने भनेर अर्थ मन्त्रालयसँग सहमति लिएका छौँ ।”

पशु सेवा विभागको प्राविधिक टोलीबाट गुणस्तर एवम् विश्लेषणपछि सम्झौताअनुसार मुर्रा राँगा नेपाल ल्याउने प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । “दुई वर्ष अघिदेखिको प्रस्ताव हो किनभने आवश्यक परे किन्छौँ पनि भनेका हौँ । सशुल्क उपलब्ध गराए पनि हुन्छ भनेको हो” उनले भने ।

पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले भारतबाट ल्याउने भनिएका १५ वटा मुर्रा जातका राँगामा उच्च प्रजननमान रहेको बताए । डा. ढकालले भने, “भारतबाट ल्याउने भनिएका १५ वटा भैसीभन्दा पनि राँगा उच्च प्रजननमान भएका वंशावली परीक्षण गरिएका राँगाहरू हुन् । नस्ल सुधारको प्रयोजनका लागि ल्याउन खोजिएको हो ।”

उनले विशेषगरी, पोखरा, लाहान क्षेत्रमा रहेका राष्ट्रिय प्रजनन् कार्यालयमा यसको व्यवस्थापन गरेर नस्ल एवम् वीर्य उत्पादन गरिने बताए । यो २०७३ सालदेखि नै ल्याउनका लागि प्रयास गरिएको देखिन्छ । विभिन्न चरणमा भिन्न-भिन्न स्तरीय छलफलमार्फत ल्याउन खोजिएको थियो ।

‘भारतमा यो जेनेटिक मेटरियल अरू देशमा सहजै लग्न नपाउने नीतिगत व्यवस्था छ । हामीले नीतिगत बाध्यताका कारण ल्याउन सकेका थिएनौँ’, उनले भने, “मुर्रा भैँसी संसारकै उच्च प्रजातिको भएको र नेपालमा पनि दूध, भूगोल र मासुको प्रयोजनको दृष्टिकोणले गाईभन्दा भैँसीको महत्त्व बढी रहेको छ ।’

उनले भने, “दूध, भूगोल र मासु प्रयोजनको दृष्टिकोणले भैँसीको महत्त्व बढी हुन्छ । स्थानीय भैँसीको उत्पादकत्व, आठ सय लिटर प्रतिवर्ष छ । नेपालमा व्यवस्थापन गरिएको मुर्रा जातिको भैँसीको लगभग १५ सय लिटरको हाराहारीमा छ । कृत्रिम गर्भधारणमार्फत नस्ल सुधार गर्न सकियो भने, उत्पादकत्व वृद्धि गर्न सकिन्छ ।”

के हो विशेषता

मुर्रा भैँसी दूध उत्पादनका लागि पालिने भैँसीको प्रजाति हो । यो जातका भैँसी भारतको पन्जाब र हरियाणामा बढी पालिन्छन् । यस किसिमका भैँसीहरू ब्राजिलमा दूध र मासुका लागि प्रयोग गरिन्छन् । यी जातका भैँसीहरूले अन्य भैँसीभन्दा दोब्बर मात्रामा दूध उत्पादन गर्ने भएकाले महँगो मूल्यमा खरिद विक्री हुने गर्छन् । नेपालमा अहिलेसम्म मुर्रा भैँसी र राँगा नरहेकाले भारत सरकारले नेपाललाई नस्ल उत्पादन तथा प्रजननका लागि १५ वटा राँगा उपहार स्वरूप प्रदान गर्न लागेको हो ।

गोरखापत्रबाट

  • २१ जेष्ठ २०८०, आईतवार १५:२१ प्रकाशित
  • Nabintech