१५ चैत्र २०८०, बिहीबार
‘युग नायिका’को उपाधि विपना थापालाई
  • काँचुली खबर

१४ जेठ, काठमाण्डौं । नेपालमा कलाकारहरुलाई विभिन्न उपाधि दिने अचेल होडबाजी छ । कलाकारहरु पनि खुसी हुँदै उपाधि लिइरहेका छन् । यस्तैमा अभिनेत्री विपना थापालाई ‘युग नायिका’को उपाधि प्रदान गरिएको छ । शनिबार काठमाडौंमा आयोजित ‘स्पर्श म्यूजिक भिडियो अवार्ड’मा उनलाई अभिनयको माध्यमबाट नेपाली फिल्ममा ठूलो योगदान पुर्‍याएको भन्दै उक्त उपाधिबाट सम्मान गरिएको हो ।

उनलाई फिल्म ‘जन्मभूमि’बाट अभिनेत्रीको रुपमा डेब्यू गराउने निर्देशक मोहन निरौला, नृत्य निर्देशक कमल राई र छायाँकार राजु केसीले विपनालाई ‘युग नायिका’को उपाधि प्रदान गरेका हुन् । कार्यक्रममा कोरियोग्राफर राईले विपनासँग आफूले २०/२५ वटा फिल्ममा काम गरेको स्मरण गर्दै उनको मिहिनेतको खुलेर प्रशंसा गरे । विपनाले ‘डान्स स्टेप’ चाँडै टिप्ने गरेको पनि उनले बताए ।

त्यस्तै, निर्देशक निरौलाले विपनालाई फिल्म अफर गर्दाको क्षण सम्झँदै भने, ‘मैले २०५१ सालमा ‘जन्मभूमि’ बनाएको थिएँ । हामीले धेरै नायिका खोज्यौं । एकदिन म बुटिकमा बसिरहेको थिएँ । त्यही बुटिकमा मैले विपनालाई देखेको थिएँ । उनी ज्यादै राम्रो थिइन् । अनि मैले उनलाई बोलाएर फिल्ममा काम गर्छौं भनेर सोधेँ । उनले पनि काम गर्ने इच्छा देखाएपछि उनलाई फिल्ममा भित्रायौं ।’

निर्देशक निरौलाले विपनासँग काम गर्न एकदमै सजिलो भएको अनुभव पनि सुनाए । ‘हामीले उनलाई अभिनय र नृत्यको प्रशिक्षण गर्नु परेको थिएन । ‘जन्मभूमि’पछि उनलाई फिल्महरु आफैं आउन थालेँ,’ उनले भने, ‘उनको राम्रो डिमान्ड रहँदा रहँदै विवाह गरेर पलायन भइन् । हाम्रो इन्डस्ट्रीलाई ज्यादै घाटा भएको छ । यस्तो कलाकार हामी फेरि भेट्दैनौं । यसमानेमा म गर्व महसुस गर्छु ।’

उक्त अवार्ड कार्यक्रममा सहभागी हुन विपना बिहीबार भारतबाट नेपाल आएकी थिइन् । कार्यक्रममा उनीद्वारा अभिनीत फिल्मका चर्चित गीतहरुमा अभिनेत्री नम्रता सापकोटा, अभिनेताद्वय दिक्पाल कार्की, यशराजलगायतले नृत्य गर्दै ‘ट्रिब्यूट’ समेत दिएका थिए । अभिनेत्री थापाले पनि आफू अभिनीत फिल्म ‘समुन’मा समावेश चर्चित गीत ‘आगो लाग्यो दिलैमा’मा नृत्य प्रस्तुत गरेकी थिइन् ।

  • १४ जेष्ठ २०८०, आईतवार १२:१४ प्रकाशित
  • Nabintech