१६ चैत्र २०८०, शुक्रबार
पीडित परिवारको सहयोगार्थ बाँकेमा सामूहिक रोपाइँ
  • काँचुली खबर

हाई भोल्टको करेन्ट लागेर मृत्यु भएका राप्तीसोनारी गाउँपालिका-६, लक्ष्मीराजपुरका दुई परिवारको स्थानीयले सामूहिक रूपमा धान रोपाइँ गरिदिएका छन्। दुई साताअघि हाई भोल्टको करेन्ट घरमा जडान भएको विद्युत लाइनमा प्रवाह हुँदा राप्तीसोनारी गाउँपालिका-६, लक्ष्मीराजपुरका टिकाराम थारू र सुरेश थारूको मृत्यु भएको थियो।

राप्तीसोनारी गाउँपालिका-६ का अध्यक्ष जनकबहादुर थारूको अगुवाइमा स्थानीयले पीडित परिवारको धान रोपाइँ गरी मानवीय सहयोग गरेका हुन्। स्थानीयले ट्याक्टरले खेत जोत्नुका साथै खेतको आली लाउने, बियाड काढ्ने र धान रोप्ने काम गरेको वडा अध्यक्ष थारूले बताए। स्थानीयको सहयोगमा दुवै परिवारको धान रोपाइँ सकिएको छ। सामूहिक खर्चमा दुवै परिवारको धान रोपाइँ सकिएको स्थानीय युवती तृष्णा घर्ती मगरले जानकारी दिइन्।

सामूहिक धान रोपाइँमा स्थानीय ३५ जना युवाको सहभागिता रहेको थियो। स्वस्फूर्त रूपमा धान रोपाइँमा युवाले सहभागिता जनाएको घर्तीमगरले बताइन्। ‘कसैलाई बोलाउनु परेन, सबैजना आफूखुसी धान रोपाइँ कार्यक्रममा सहभागी भए,’ उनले भनिन्।

 

साभार : थाहा खबर

  • ३१ असार २०७५, आईतवार १८:३३ प्रकाशित
  • Nabintech