८ बैशाख २०८१, शनिबार
बाँकेमा रासायनिक मलको मौज्दात न्युन, मल अभावको सम्भावना
  • काँचुली खबर

५ बैशाख, नेपालगन्ज । बाँकेमा किसानलाई अति आवश्यक पर्ने रासायनिक मलको मौज्दात न्युन अवस्थामा रहेको पाईएको छ । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलले जिल्लामा धान बालीकालागि तीन हजार पाँच सय मेट्रिक टन युरिया मल आवश्यक पर्नेमा हालसम्म ५२८ मेट्रिक टन मात्र मौज्दात रहेको बताए । त्यसैगरी एक हजार पाँच सय मेट्रिक टन डीएपी मल आवश्यक पर्नेमा हालसम्म कार्यालयको गोदाममा १२५ मेट्रिक टन मात्रै मल मौज्दात रहेको छ । खेतीका बेला हरेक वर्ष मलको अभाव हुने बाँकेमा यस पटक पनि सोही अवस्था दोहोरिने अवस्था रहेकको प्रमुख पौडेलले बताउँछन ।

उनका अनुसार वार्षिक छ हजार मेट्रिक टन युरिया मल आवश्यक पर्ने आँकलन गरिए पनि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म एक हजार ६४४ मेट्रिक टन मल मात्रै बिक्री गरिएको छ ।

यसैगरी ७६९ मेट्रिक टन डीएपी र ९८ दशमलव दुई सय मेट्रिक टन पोटास बिक्री भएको प्रमुख पौडेलको भनाइ छ । युरियाको वार्षिक अनुमानित मागअनुसार अझै तीन हजार आठ सय मेट्रिक टन युरिया आउन बाँकी रहेको छ ।

थप मल कहिले आइपुग्छ भनेर यकिन भन्न नसकिने भए पनि धान लगाउने सिजनअघि मल ल्याउने प्रयास भइरहेको प्रमुख पौडेलले बताए ।

तर, जिल्लाका किसानको ३० प्रतिशत माग भने पूर्ति गर्न नसकिने अवस्था रहेको उनको भनाइ छ । “अपुग मागका लागि किसान सीमापारिको भारतीय बजारमा निर्भर रहने गरेका छन् । सीमामा कडाइ नगरिए यहाँ मलको धेरै अभाव हुने छैन,” पौडेलले भने । कम्पनीको नेपालगञ्जस्थित कार्यालयका प्रमुख पौडेलले अहिले पनि कम्पनीको बुटवलस्थित गोदाममा मल थन्किएर रहे पनि ढुवानी समयमा नभइरहेको जानकारी पाएको बताउँछन । उनले यस वर्ष मलको अभाव हुन नदिने प्रयास निरन्तर भइरहेको समेत बताए ।

  • ५ बैशाख २०८०, मंगलवार १४:०७ प्रकाशित
  • Nabintech