१३ बैशाख २०८१, बिहीबार
धुर्मुसले अलपत्र छाडेकाे रंगशाला सरकारले बनाउने
  • काँचुली खबर

२० चैत्र, काठमाडौँ । धुर्मुस सुन्तली फाउन्डेसनले बनाउने भनिएकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिने भएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले रंगशालाकाे स्वामित्व लिदैं निर्माण सम्पन्न गर्ने निर्णय गरेकाे हाे ।

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको उक्त रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र परेको थियाे । कलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकेका थिए ।

फाउन्डेसनका संस्थापक कट्टेलले रंगशालाको स्वामित्व लिनका लागि सरकारलाई आह्वान गर्दै आएका थिए । महेश्वर गहतराज (अथक) युवा तथा खेलकुद मन्त्री रहँदा रंगशालाकाे स्वामित्व सरकारकाे मातहतमा ल्याउन प्रक्रिया थालिएकाे थियाे । साेहि प्रक्रियालाई मुर्तरूप दिदैं सोमबारको मन्त्रिपरिषद्‍को बैठकबाट नयाँ निर्णय भएसँगै अब चितवनको क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढ्ने भएको छ ।

हालसम्म रंगशालाको प्याराफिटको पहिलो चरणको काम सकिएको बताइएको छ । तीन हजार दर्शक क्षमता भएको प्याराफिटका लागि २ सय ८६ वटा पिलर उठाउँदै चौरमा दुबो गाड्ने काम भइरहँदा निर्माण कार्य राेकिएकाे थियाे । कट्टेलका अनुसार ८ वटा पिचलगायतका काम बन्न बाँकी छ ।

कट्टेलले अहिलेसम्म उधारोमा काम गरेको र ५४ करोड खर्च भएकामा करिब १६ करोड रुपैयाँ उधारो भइसकेको बताएका थिए । एकै पटक धेरै ठूलो रकम खर्च गर्नुपर्ने भएकाले कट्टेलले अब आफूहरूको सामर्थ्यले नधान्ने भन्दै काम रोक्नुपरेको बताएका थिए

  • २० चैत्र २०७९, सोमबार १९:२६ प्रकाशित
  • Nabintech