७ बैशाख २०८१, शुक्रबार
अमृतपाल सिंह नेपालगन्जमा लुकेको आशङ्का, खोजतलास तीव्र
  • काँचुली खबर

१५ चैत्र, काठमाण्डौं । भारतमा तिब्र खोजी भईरहेका सिख अभियन्ता अमृतपाल सिंह नेपालगन्जमा लुकेको आशङ्का गरिएको छ ।भारतको पन्जाबमा स्वतन्त्र राज्य खालिस्तानको माग गर्दै आएका सिंह नेपालमा आएको हुनसक्ने दाबी गरेर भारतीय दूतावासले नेपाल सरकारलाई पत्राचार गरेको छ । गृह मन्त्रालयमार्फत पत्र आएको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए ।

भारतीय दूतावासले लेखेको पत्रमा अमृतपाल नेपाल आएको जिकिर गर्दै भनिएको छ, ‘भारतमा सन्दिग्ध व्यक्ति भएको हुनाले नेपालमा फेला परेमा जानकारी गराउनु हुन अनुरोध छ ।’

अध्यागमनका महानिर्देशक अधिकारीले अध्यागमन नाकाहरूमा निगरानी राखेको बताए । उनी भन्छन्, ‘विमानस्थल र अध्यागमन नाकाहरूमा निगरानी राखेका छौँ ।’ प्रहरी स्रोतका अनुसार सिंह नेपालगन्जमा लुकेर बसेको आशङ्का गरिएको छ । प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरीले नेपालगन्जमा खोजी तीव्र बनाएका छन् । गृह मन्त्रालयका एक जना उच्च अधिकारी भन्छन्, ‘सुरक्षा निकायहरूले खाजी जारी राखेका छन्, नेपालगन्जमा लुकेको आशङ्का गरिएको छ ।’

अध्यागमन विभागले अमृतपाल सिंहको फोटो दूतावाससँग मागेको छ । अमृतपाल सिंह नेपाल आएकोबारे प्रहरीलाई जानकारी नभएको बताउँछन् प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेल । पोखरेल भन्छन्, ‘आएको थाहा पाएका छैनौँ तर, हामी सचेत छौँ ।’ भारतीय दूतावासले नेपाल सरकारलाई लेखेको पत्रमा अमृतवाल विरुद्ध भारतमा लुक आउट सर्कुलर जारी भएको भनिएको छ ।

तर, भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार अबेर राति अमृतपाल पञ्जाबमा देखिएको दाबी गरेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार अमृतपाल पञ्जाब राज्यको होशियारपुरमा छन् र प्रहरीलाई फेरी एकपटक झुक्क्याउन सफल भएका छन् । पञ्जाब प्रहरीले उनलाई पक्राउ गर्नका लागि मङ्गलबार अबेर राती फगवाडा-होशियारपुर रोडमा घेराबन्दीलाई तीव्र गरेका थिए ।

स्रोतका अनुसार होशियारपुरमा एक इनोभा कार देखिएको थियो जसभित्र अमृतपाल भएको आशङ्का गरिएको थियो । प्रहरीले सूचना पाएपछि घेर्ने कोसिस गर्दा अमृतपाल कार छोडेर गाउँमा भागेको भारतीय सञ्चार माध्यमले बताएको छ ।

  • १५ चैत्र २०७९, बुधबार १७:३२ प्रकाशित
  • Nabintech