१५ चैत्र २०८०, बिहीबार
कोहलपुरको ‘भिजन कम्पिटिसन’ : उत्कृष्टलाई डेढ लाख पुरस्कार
  • काँचुली खबर

१९ फागुन, कोहलपुर । कोहलपुर नगरपालिकाले ‘भिजन कम्पिटिसन’ का लागि खुला प्रस्ताव आह्वान गरेको छ । चालू आर्थिक वर्ष ०७९-८० को कार्यक्रम अन्तर्गत कोहलपुरको समग्र विकासलाई समेट्ने गरी विज्ञसमूह तथा व्यक्तिलाई भिजन कम्पिटिसनमा सहभागी हुन आह्वान गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए ।

नगरको योजना निर्माण तथा कार्यक्रम चयनमा बौद्धिक व्यक्ति तथा समूहको सहभागिताका लागि भिजन कम्पिटिसनको अवधारणा ल्याएको बताए ।

‘कोहलपुरको दीर्घकालीन विकास, निर्माणका लागि जनप्रतिनिधिले नदेखेको र नजानेको हुन सक्छौं । बौद्धिक व्यक्ति तथा समूहको योजना तथा कार्यक्रम छनोटमा सहभागिता नभएर महत्वपूर्ण योजना छुटेको हुन सक्छ,’ नगर प्रमुख आचार्यले भने, ‘भिजन कम्पिटिसनबाट नयाँ योजना, विचार र आइडिया आउने र त्यसले कोहलपुरको समग्र विकासमा टेवा पुग्ने विश्वास छ ।’

स्वदेश तथा विदेशमा रहेका विद्यार्थी शोधकर्ता, सम्बन्धित क्षेत्रका विज्ञ, योजनाकार, स्वतन्त्र अन्वेषक, लेखक, बुद्धिजीवी, नेपाली नागरिक र संघसंस्थाले उक्त प्रतियोगितामा भाग लिन सक्ने उनले बताए ।

‘कोहलपुरको वर्तमान अवस्थाको विश्लेषण गरी कोहलपुरको विकास, निर्माण, सुशासनलगायतका विषयमा आगामी दिनमा गर्नुपर्ने कामको योजनासहित अनुमानित रकम प्रस्तावनामा समेट्नुपर्नेछ,’ उनले भने ।

नगरपालिकाको पूर्वाधार विकास, आर्थिक विकास, संस्थागत विकास, सुशासन, वातावरण तथा विपद व्यवस्थापनमा नवीनतम प्रविधिको प्रयोगका साथै सूचना, सञ्चार एवं कुनै भए सोसमेत उल्लेख गरी सो क्षेत्रको सुधारका लागि नगरपालिकाले अवलम्बन गर्नुपर्ने नीति एवं ठोस कार्ययोजनासहितको सुझाव पेस गर्नुपर्ने सर्त राखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए ।

प्रस्ताव कार्यान्वयन गर्दा न्यूनतम मूल्य वा बिनामूल्यमा गर्न सकिने गरी अनुमानित बजेटसमेतको प्रस्ताव सूचना प्रकाशित भएको मितिले ६० दिनभित्र पेस गर्न आह्वान गरेको उनले बताए ।

‘प्रस्तावकले नेपाली नागरिक खुल्ने कागजात, प्रस्तावकको विज्ञता वा अध्ययन विधि खुल्ने कागजात तथा कोहलपुर नगरपालिकाको समृद्धि र विकासका लागि कम्तीमा एक हजार शब्दको कार्ययोजनासहितको कागजात पेस गर्नुपर्नेछ,’ उनले भने ।

पेस भएका प्रस्तावनालाई नगरपालिकाले अध्ययन गरी संक्षिप्त सूचीमा परेका प्रस्तावक स्वयं नगरपालिकामा उपस्थित भई वा भर्चुअल माध्यमबाट प्रस्तुति गर्नुपर्ने नियम नगरपालिकाले बनाएको छ ।

नगरपालिकाको नीतिगत सुधारमा सघाउ पुग्ने प्रस्तावनामध्ये पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ प्रदान गरिने नगर प्रमुख आचार्यले बताए । ‘प्रथम हुने प्रस्तावक वा विज्ञलाई कोहलपुर नगरपालिकाको सद्भाव दूत वा विज्ञसमूहमा नियुक्त गर्न सकिनेछ,’ उनले भने ।

  • १९ फाल्गुन २०७९, शुक्रबार १४:४६ प्रकाशित
  • Nabintech