१५ चैत्र २०८०, बिहीबार
बाँकेको फत्तेपुरमा ७औं राष्ट्रिय थारु साहित्य सम्मेलन सुरु
  • काँचुली खबर

२० माघ, बाँके (फत्तेपुर) । बाँकेको फत्तेपुरमा शुक्रबारदेखी ७ औं राष्ट्रिय थारु साहित्य सम्मेलन सञ्चालनमा आएको छ । फत्तेपुरस्थित सहिदपार्कमा सञ्चालित उक्त सम्मेलनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घाटन गरेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले थारु समुदाय अहिले पनि विभेदमा परिरहेको बताए । थारु आन्दोलनका घटनामा परेका थारु नेताहरुलाई सरकारले विभेद गर्दै पक्राउ गर्नु दुःखद कुरा भएको उनको भनाई छ । आन्दोलनमा लागेकै कारण जेलमा परेका थारु नेतालाई मुक्त गराउन आफुले आवश्यक पहल गर्ने बताए ।

थारु बाहुल्यता रहेको क्षेत्रमा थारु संग्रहालय अनिवार्य स्थापना गर्न आवश्यक रहेको र त्यसका लागि बजेट छुट्याउन आफुले पहल गर्ने प्रतिवद्धता जनाए । थारु साहित्यमा कलम चलाउनेका लागि राम्रो कार्यक्रम ल्याउन आफुले पहल गर्ने मन्त्री मोदीले बताए ।

सम्मेलन उद्घाटन शत्रमा लुम्बिनी प्रदेशकी मन्त्री कृष्णा केसी ‘नमुना’, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक, वरिष्ठ साहित्यकार, डा. गोविन्द आचार्य, कृष्णराज सर्वाहारी, अन्य साहित्यकारहरु, स्थानीय जनप्रतिनिधी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

सो क्रममा साहित्य लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने ब्यक्तिलाई सम्मान गरिएको थियो । थारु लेखक संघ नेपाल बाँके र थारु गोचाली समाज नेपाल राप्ती सोनारीले उक्त सम्मेलन आयोजना गरेका हुन् । संघका केन्द्रीय सदस्य शेखर दहितका अनुसार शुक्रबारबाट सञ्चालनमा आएको उक्त सम्मेलन माघ २२ गतेसम्म चल्नेछ ।

सम्मेलनमा थारु भाषा, साहित्य, कला, सँस्कृती, परम्परा लगायत विषयमा छलफल र बहस हुने बताइएको छ । सम्मेलनमा सहभागी हुन पुर्वमेचीदेखी पश्चिम महाकाली सम्मका थारु अगुवा, थारु सर्जक बाँके आईपुगेका छन् । उनीहरुलाई राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्र बर्फानीबाबा आश्रम, सन्तानेश्वर मन्दिर, भुवर भवानी मन्दिर लगायत क्षेत्रको अवलोकन गराउने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ ।

२०७३ सालमा पहिलो राष्ट्रिय थारु साहित्य सम्मेलन दाङमा भएको थियो । त्यसपछि दोस्रो सम्मेलन कैलालीको धनगढीमा आयोजना गरियो । यसैगरी तेस्रो बर्दियाको बढैयातालमा, चौथो रुपन्देहीको मुर्गिया, पाँचौं सुर्खेतको नयाँ गाउँ, छैठौं सम्मेलन कञ्चनपुरमा आयोजना गरिएको थियो ।

  • २० माघ २०७९, शुक्रबार २०:१४ प्रकाशित
  • Nabintech