१४ बैशाख २०८१, शुक्रबार
ऐँंसेलु बेचेरै करोड आम्दानी
  • काँचुली खबर

ऐँंसेलु जंगलमा फल्छ । बटुवा वा गोठालाले टिपेर खाएमात्र यसको खपत हुन्छ, नत्र झेरर जान्छ । अहिलेसम्म नेपालमा यसको व्यावसायिक खेती भएको सुनिएको छैन । तर ऐँसेलु बेचेर यो सिजनको २ महिनामा भने एकै गाउँका कृषकले १ करोड रुपैंयाभन्दा बढी आम्दानी गरेका छन् । संखुवासभा टुटेको मकालु वाइन इन्डष्ट्रिजलाई ऐँंसेलु विक्री गरेर उनीहरूले करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन् । वाइनलाई थप स्वादिलो बनाउन कच्चा पदार्थको रुपमा ऐँंसेलु प्रयोग हुन्छ ।
लालिगुराँस नगरपालिका सुङनामका पुन्य तिम्सिनाले २ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको बताए । त्यस क्षेत्रका सोल्मा, सुङनाम, सन्सारे, वसन्तपुर, फुलेक, दागपा, काटे लागायतका बासिन्दाले ऐँसेलु विक्री गरेर ५० लाखभन्दा बढी भित्र्याएको बताउँछन् ।
धनकुटा मारेककटहरे माझखर्कका रुद्र गुरुङले दुई महिनामा गाउँलेले टिपेको ऐँसेलु ट्र्याक्टरमा ढुवानी गराएर ६ लाख ५० हजार रुपैंयाँ आम्दानी गरेको बताए । संखुवासभाको तामाफोक ९ टुटेमा खुलेको वाइन उद्योग तेह्रथुम, संखुवासभा र धनकुटाका बासिन्दाका लागि ऐँसेलु विक्री गरेर गाउँमा करोडौं रुपैंया भित्र्याउने माध्यम वनेको छ । यस वर्ष वैशाख दोस्रो साताबाट जंगलमा फलेको ऐँसेलु टिपेर तामाफोक, मारेकटहरे, परेवादिन, आङदिम, हमरजुङ, फुलेकलगायतका दर्जन बढी स्थानका बासिन्दाले ४० लाखभन्दा बढी रुपैयाँ गाउँमा भित्र्याएको उद्योगका सञ्चालक सुजन श्रेष्ठले वताए । ऐँसेलुवाट उद्योगले ‘हिंवा’ व्राण्डको वाइन उत्पादन गर्दै आएको छ ।
जंगलमा निशुल्क टिप्न पाईने ऐँसेलु प्रतिकेजी ५० रुपैयाँसम्ममा विक्री भएपछि किसानले निजी र सामुदायिक वनमा ऐँसेलुको व्यावसायिक खेतीसमेत सुरु गरेका छन् । गाउँलेले जंगलमा टिपेको ऐँसेलु खरिद गरेर उद्योगलाई विक्री गर्ने बिचौलियाहरूले समेत दुई महिनाको अवधिमा लाखौं रुपैयाँ कमाइ गरिरहेका छन् । परेवादिन–६ धनकुटाकी रिता भट्टराईले गाउँ नजिकको जंगलमा टिपेको ऐँसेलु विक्री गरेर यो सिजनमा ३५ हजार रुपैंयाँ आम्दानी गरेको बताइन् । पछिल्ला वर्षहरूमा सामुदायिक वनले समेत ऐँसेलुको व्यावसायिक खेती गरिरहेका छन् ।
सामुदायीक वनलाई केही पैसा बुझाएपछि सिजनभर ऐँसेलु टिप्न पाइने गरेको परेवादिन धनकुटाका ऐँसेलु संकलनकर्ता धन वहादुर कार्कीले वताए । ऐँसेलुवाट किसानले राम्रो आम्दानी गर्न थालेपछि वन कार्यालयले समेत सामुदायिक वनमार्फत ऐँसेलु खेती गर्न उपभोक्तालाई प्रोत्साहित गरिरहेको तेह्रथुमका सहायक वन अधिकृत ललन यादवले वताए ।
गाउँलेले जंगलमा टिपेको ऐँसेलु खरिद गरेर उद्योगसम्म ल्याउने काममा मात्र यो सिजनमा १० जना बढी व्यापारी संलग्न छन् । उनीहरूले गाउँलेसँग प्रतिकेजी ५० रुपैंयामा ऐँसेलु खरिद गरेर उद्योगलाई ६० रुपैंयाका दरले विक्री गर्दै आएका छन् । गाउँलेले टिपेर ल्याएको ऐँसेलु केलाउने, ड्रममा हालेर घोल्ने, प्रशोधन गर्ने लगायतका काममा १ सय वढी युवा युवतीले रोजगार पाएका छन् ।
ऐँसेलुबाट सेतो रङको वाइन उत्पादन हुन्छ । नेपाली समाजमा वाइन पिउने संष्कृति विस्तारै विकास हुदै गएकाले जंगलमा खेर जाने फल ऐँसेलुको समेत खपत बढेको सञ्चालक श्रेष्ठले वताए । जंगली वनपाखामा फलीसकेर त्यसैखेर गइरहेको ऐँसेलुबाट तयार भएको वाइनको पछिल्लो समय युरोपीय मुलुकबाट समेत माग आइरहेको उद्योगले जनाएको छ । तर जंगली फल ऐँसेलु मौसममा आधारित हुने भएकाले सँधै एकैनासले उत्पादन हुदैंन । कच्चा पदार्थ ऐँसेलुको उत्पादनमै उतारचढाव भैरहने हुनाले मागेजति उत्पादन वजारमा पठाउन नसकिएको सञ्चालक श्रेष्ठको भनाइ छ ।
केही वर्ष अघिसम्म विदेशी वाइनले ओगटेको स्थानीय वजार अहिले पहाडी चिसो हावापानीमा फलेको ऐँसेलुबाट तयार गरिएको वाइनले लिँदै गएको छ । वनपाखामा फलेको ऐँसेलु निशुल्क टिप्न पाइने भएकाले ऐँसेलु फल्ने क्षेत्रका विद्यालयका विद्यार्थीसमेत पढाई छोडेर जंगल जाने गरेको सोल्माकाडेका शिक्षक राम तामाङले बताए । दुई महिना ऐँसेलु खोजेर विक्री गरेको पैसाले विद्यार्थीले विद्यालय पोशाक, कापी कलम, जुत्ता लगायतका सामग्री जुटाउने गरेको शिक्षक तामाङले बताए । ऐँसेलुवाट उद्योगले अहिले वार्षिक १ लाख ६६ हजार लिटर वाइन उत्पादन गर्दै आएको जनाएको छ ।
गर्मी होस या जाडो, कुनै औपचारिक कार्यक्रम होस या पार्टी, सबै उत्सव र समारोहमा वाइन पिउने जमात वढ्दै गएको छ । ‘अल्कोहलको मात्रा थोरै हुने भएकाले अहिले महिलाले समेत ऐँसेलुबाट वनेको वाइन पिउन थालेका छन्’ सञ्चालक श्रेष्ठले भने । श्रेष्ठका अनुुसार हिंवा वाइनमा १२ प्रतिशत भन्दा कम अल्कोहलको मात्रा छ । ऐँसेलुलाई केलाएर पेलेपछि इस्ट ९मर्चा० राखेर फर्मेन्टेड (प्रशोधन) गरेपछि वाइन वन्छ । फलफूलमा हुने चिनीको मात्रा र थप चिनी मिलाएर फर्मेन्टेड गरेपछि अल्कोहलमा परिणत हुने श्रेष्ठले बताए ।

 

स्रोत : कारोबार

  • ३० असार २०७५, शनिबार १६:३१ प्रकाशित
  • Nabintech