६ बैशाख २०८१, बिहीबार
कोहलपुरमा आफ्नै बुवाले आगो लगाउँदा नावालकको मृत्यु, श्रीमती घाईते
  • काँचुली खबर

१६ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा एक युवाले आफ्ना नावालक छोरा र पत्नीलाई आगो लगाएका छन् । कोहलपुर-१ शत्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले पत्नी गंगा बिक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आईतबार बेलुका आगो लगाएका हुन् ।

बुवाले लगाएको आगोले जलेर गम्भीर घाईते भएका प्रिन्सको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएस्पी ऐन बहादुर मल्लले जानकारी दिए । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार राति १ बजे उपचारका क्रममा नाबालकको मृत्यु भएको हो । गंगा बिकको घाँटी र ढाडमा जलेको छ । उनको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचार हुँदै छ ।

यसैबिच आरोपीलाई भारत तर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गएराति पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।

आइतबार साँझ करिब ७ बजेतिर भानुभक्तले श्रीमती र छोरामाथि पेट्रोल छर्केर आगो लगाएर भागेका थिए। घरायसी विवादका कारण श्रीमती र छोरालाई उनले आगो लगाएको प्रहरीले जनाएको छ ।  घरमा भानुभक्तकी दिदीलगायत पाहुना आएका थिए। उनीहरूले प्रहरीलाई जानकारी गराएपछि घटना बाहिर आएको थियो। श्रीमती गंगामाथि भानुभक्तले पाँच लाख रूपैयाँको हिसाव देखाउन भनेपछि विवाद भएको थियो।

  • १६ माघ २०७९, सोमबार ०८:४७ प्रकाशित
  • Nabintech