११ बैशाख २०८१, मंगलवार
पाँचौ नगरसभाले तोक्यो नगरपालिकाको केन्द्र
  • काँचुली खबर

रुुकुम / चौरजहारी नगरपालिकाको पाँचौ नगरसभाले वडा नम्बर २ को विजयश्वरीलाई नगरपालिकाको केन्द्र तोकेको छ । शनिवारको नगरसभाद्धारा दुईतिहाई भन्दा बढि बहुमतले नगरपालिकाको केन्द्र तोकिएको हो ।

नगरपालिकाको केन्द्र तोक्ने विषयमा ६१ जनाले पक्ष र ६ जनाले विपक्षमा मतदान गरेका हुन् । नगरपालिका भित्रका १४ वटै वडाका जनप्रतिनिधि र कार्यपालिकाका ५ सदस्य गरी ७५ जनालाई मतदान गर्न पाउने व्यवस्था गरिएको थियो । जसअन्र्तगत ६७ जनाले मत खसालेको र ८ जना अनुपस्थित रहेको बताईएको छ । नेपालको संविधानको धारा २९५ को उपधारा ३ मा भएको व्यवस्था बमोजिम नगरपालिकाको केन्द्र विजयश्वरीलाई तोकिएको नगरप्रमुख विशाल शर्माले बताउनुभयो । यसअघि सोही स्थानमा नगरपालिकाले अस्थाई रुपमा नगरपालिकाको सबै कार्यहरु संचालन गर्दै आईरहेको थियो ।

यसअघि नगरपालिकाको केन्द्रका लागि चौरजहारी नगरपालिकाको वडा नम्बर ११, वडा नम्बर ६ को शान्तिबजार वडा नम्बर ७ को नार्जी र हालको विजयश्वरीलाई केन्द्रको रुपमा प्रस्ताव गरिएको थियो । तर पाँचौ नगरसभा मार्फत वडा नम्बर २ को विजयश्वरीलाई बहुमतद्धारा नगरपालिकाको केन्द्र तोकिएको हो । यसैबिच पाँचौ नगरसभाले वडा नम्बर १० मा नगर हस्पिटल, वडा नम्बर १३ मा सीप विकास तालिम केन्द्र र वडा नम्बर ७ को आधारभूत विद्यालयलाई नमुना विद्यालय बनाउने निर्णय गरेको छ । यस्तै वडा नम्बर ७ मा रहेकोे माध्यमिक विद्यालय कोटजहारीलाई प्राविधिक शिक्षालयको रुपमा संचालन गर्ने प्रस्ताव गरिएको छ ।रुकुम पश्चिम र पूर्वका विभिन्न स्थानीय तहहरुमा केन्द्र तोक्ने विषयमा विवाद भईरहेको बेला चौरजहारी नगरपालिकाले भने दुई तिहाई बहुमतले केन्द्र तोकेको हो ।

  • ३० असार २०७५, शनिबार १५:४१ प्रकाशित
  • Nabintech