११ बैशाख २०८१, मंगलवार
महाकाली नदीको बहाव पुरानै धारमा फर्काउने सहमति
  • काँचुली खबर

मंसिर २१, दार्चुला । दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी रुपमा निर्माण गरेको तटबन्धका कारण नेपालतर्फ मोडिएको महाकाली नदी पुनः पुरानै धारमा फर्काउने सहमति भएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीबीच बुधबार भारतको पिथौरागढ जिल्लाको धार्चुलामा भएको छलफलमा १० दिनभित्र नदीलाई पुरानै धारमा फर्काउने सहमति भएको हो ।

धार्चुलामा भएको छलफलमा नेपाली पक्षको मागअनुसार नदीको बीचमा रहेको अस्थायी संरचना हटाउन १० दिनको समय दिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले जानकारी दिए । नेपालतर्फ सोझिएको नदीको धार बीचमा पार्ने, अत्यावश्यक बाहेकका अस्थायी डाइभर्सन, संरचना तत्काल हटाउने, त्यसका लागि भारतीय जनशक्ति नै परिचालन गर्ने सहमति बनेको प्रजिअ उपाध्यायले बताए ।

तोकिएको समय १० दिनमा सहमतिअनुसार काम गरे नगरेको अवस्था हेरी पुनः भारतीय प्रशासनसँग छलफल अघि बढाइने उनको भनाइ छ । नेपालसँग विनाछलफल एकतर्फी रूपमा तटबन्ध निर्माण गरिरहेको भारतीय पक्ष चौतर्फी दबाबपछि वार्तामा बस्न सहमत भएको थियो । गत आइतबार नेपाल र भारत दुबैतर्फ स्थानीयबीच भएको ढुंगा हानाहान र समस्या समाधानका विषयमा बैठकमा छलफल भएको छ ।

नेपाल सरकारले कुटनीतिक नोट पठाएपछि भारतीय अधिकारीले हिजो महाकाली नदी क्षेत्रमा भइरहेको तटबन्ध निर्माणको कामको अनुगमन गरेका थिए । गत आइतवार दार्चुलाको खलंगाका स्थानीय बासिन्दा प्रतिरोधमा उत्रिँदा भारतीय नागरिकले ढुंगामुढा गर्दा बालकसहित चार नेपाली घाइते भएका थिए । दुई देशीय सीमा सुरक्षा बैठकमा दार्चुला र धार्चुलाका स्थानीय अधिकारीहरुको सहभागिता थियो ।
गोरखापत्रबाट

  • २१ मंसिर २०७९, बुधबार २०:५२ प्रकाशित
  • Nabintech