१६ चैत्र २०८०, शुक्रबार
‘…..कुनै जमानाको ‘पर्यटकीय स्थल’ यसरी खण्डहर भयो’
  • काँचुली खबर

भाद्र २७, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १० चटारमा रहेको बन्धा नहर कुनै समय पर्यटकीय क्षेत्रको रुपमा परिचित थियो । छिमेकी शहर तथा जिल्लाहरुबाट समेत घुम्न तथा पिकनिककालागि त्यहाँ पुग्नेको सँख्या बाक्लै हुन्थ्यो । विशेषगरी गर्मी महिनामा बन्धा नहरमा जलक्रीडा गर्न आउनेको युवायुवतीहरुको भिड नै लाग्ने गर्दथ्यो । युवायुवतीहरुको पिरती अँकुराउन मद्धत्त गर्ने बन्धा नगर पछिल्लो एक दशकदेखी सुनसान छ । यहाँ न त कोही घुम्न आउँछ, न त कसैले यसको अवस्थाको बारेमा चासो नै दिएको देखिन्छ ।

बि.सं. २०२० साल फाल्गुण १८ मा भारतिय सरकारको सहयोगमा निर्मित कोहलपुर १० र १३ को सिमानामा रहेको बन्धा नहर जिर्ण संरचनामा ठिङ्ग उभिएको वर्षौं भईसक्यो । यो आयोजनामा लक्ष्य बमोजिमको पानी बग्ने त कता हो कता, उल्टो सिक्टा सिचाइको पानी ल्याएर डुडुवा खोलामा झारीएको छ । तत्कालिन राजा महेन्द्रले उद्घाटन गरेको सो आयोजना ६० को दशकमा आन्तरिक पर्यटनको आर्कषक गन्तब्य थियो । तर बिभिन्न समयमा डुडुवा नालामा आएको बाढिले त्यस वरिपरीको सौन्दर्यलाई कुरुप पार्नुका साथै नहरको संरचनामा समेत क्षती पुर्याएको छ ।

वर्षौंदेखी डुडुवाको पानी खेर गईरहेको छ, न यो गाई भैंसिलाई खुवाउन मिल्छ न खेतबारीमा सिचाई गर्न नै । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट डाइरेक्ट ढल मिसाइएकाले पनि डुडुवाको पानी गाई भैंसिलाई खुवाउन समस्या परेको स्थानिय बताउँछन । पहिले पहिले माछा मार्न थारु महिलाहरु परम्परागतरुपमा ढडिया लिएर डुडुवामा जाने गर्दथे । प्रचण्ड गर्मिमा नुहाउनकालागि समेत प्रयोग हुने उक्त नालाको पानी अस्पतालको ढल मिसिएसँगै प्रयोग बिहिन हुन पुगेको छ ।

नहरसँगै रहेको झोलुङ्गे पुल बाढिले बगाएसँगै यहाँका स्थानियहरुलाई आवतजावतमा समेत समस्या हुँदै आएको छ । कोहलपुरको १० र १३ नं. वडालाई जोड्ने उक्त नहरको पुल नहुँदा घाँस दाउरा तथा पशुचौपायाकालागि सामुदायिक बनमा जान समेत समस्या झेल्दै आएका स्थानिय भन्छन, “पुल हुदा सजिलो थियो, अहिले सिक्टा सिचाईको नहर भएर जानुपर्छ । गाई बस्तु लैजान ल्याउन सास्ति छ ।”

कोहलपुर रिङरोडको सडक १३ नं. वडाको सिमानासम्म पुगेपनि बन्धा नगरमा पुल नहुदा आयोजना कति लम्बिने हो र कहिले बन्ने हो ? भन्नेमै आशंका पैदा हुँदै आएको छ ।

त्यसो त बन्धा छेउछाउको स्थानमा थारु संग्राहलय र स्मार्ट पार्क निर्माणका निम्ति यस अघिको स्थानिय सरकारले डिपिआर गरिसकेको छ । यद्यपी उक्त परियोजना संचालन हुनेमा स्थानियहरु नै आशावादी छैनन् ।

यता कोहलपुर नगरपालिकाले उक्त परीयोजनालाई निरन्तरता दिने भन्दै यस आर्थिक बर्षमा करीब डेढ करोड रकम बिनियोजन गरेको जनाएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले बन्धा क्षेत्रमा थारु संग्रहालय, स्मार्ट पार्क, पिकनिक स्पटसँगै होम-स्टे संचालन गरि आन्तरिक पर्यापर्यटनलाई प्रवद्र्धन गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए ।

“हामी त्यस स्थानलाई आन्तरिक पर्यापर्यटकको गन्तब्य बनाउन आर्कषक योजना अघि सार्ने जमर्कोमा छौं । तर यस अघि भएको झोलुङ्गे पुल र बाँध निर्माण गर्ने जिम्मा भने प्रदेश वा संघको रहन्छ । स्थानिय सरकारले खर्च धान्ने स्थिती बाहिरको कुरा हो, हामी सो बारे पहल गर्न चुक्ने छैनौ” आचार्यले भने ।

  • २७ भाद्र २०७९, सोमबार १८:५४ प्रकाशित
  • Nabintech