१६ चैत्र २०८०, शुक्रबार
मन्त्री पोखरेलद्धारा प्राविधिक शिक्षालयको शिलान्यास
  • काँचुली खबर

वागेश्वरी क्याम्पस कोहलपुरमा निर्माण गर्ने भनिएको प्राविधिक शिक्षालयको बिहिबार शिलान्यास गरिएको छ । शिक्षा मन्त्री गिरिराजमणी पोख्रेलले शिक्षालयको शिलान्यास गर्दै राज्यको आवश्यकता अनुसारको ब्यवसायीक प्राविधिक शिक्षा आवश्यक रहेको बताए ।
बिहिबार शिक्षालयको शिलान्यास गर्न कोहलपुर आएका मन्त्री पोखरेलले हाल १० प्रतिशत मात्र प्राविधिक दक्ष जनशक्ती उत्पादन भईरहेको बताउँदै देशलाई समृद्ध बनाउन दक्ष जनशक्ति उत्पादनलाई राज्यले प्राथमिकतामा राखेको जिकिर गरे । विश्वविद्यालयहरुले अनुसन्धानात्मक शिक्षामा जोड दिनुपर्ने मन्त्री पोखरेलको भनाई छ ।
मध्यपश्चिम विश्वविद्यालयबाट आंगिक सम्बन्धन प्राप्त गर्ने प्रक्रियामा रहेको वागेश्वरी क्याम्पसका कर्मचारी तथा प्रध्यापकहरुलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सेवा सुविधा र तलव बृद्धिकालागि मात्रै सम्बन्धनलाई माध्यम बनाउन नहुने बताए । उनले आप्mनो शैक्षिक कर्तब्य पालनामा कुनै कसर बाँकी नराख्न क्याम्पसका कर्मचारी तथा प्रध्यापकहरुलाई निर्देशन समेत दिए ।


वागेश्वरी क्याम्पस ब्यवस्थापन समितिको अध्यक्ष भएकोमा नरेन्द्र न्यौपानेलाई बधाई दिदै मन्त्री पोखरेलले क्याम्पसको भौतिक पूर्वाधारका साथै शैक्षिक गुणस्तर बृद्धिकालागि नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह समेत गरे ।
एक अलग विषयमा बोल्दै शिक्षा मन्त्रि पोख्रेलले डा. गोबिन्द के.सी. को माग जायज भएपनि संसद र र सरकारको कार्यक्षेत्रमा हस्तक्षेप गर्न खोजेको आरोप लगाए । ‘के.सी. का कतिपय मागहरु जायज छन, ति मागहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने बारेमा सरकार गम्भीर छ’ मन्त्री पोखरेलले भने ।  उनले उच्च स्तरीय आयोग गठन गरि डा. के.सी. ले उठाएका मागहरुलाई सम्बोधन गर्ने तयारीमा सरकार लागिपरेको धारणा राखे ।
हाल जुम्लामा अनशनरत डा. के.सी. को स्वास्थ्यप्रति सरकार गम्भीर रहेको भन्दै मन्त्री पोखरेलले गएराती मात्र सरकारले विशिष्ट चिकित्सक सहितको टोली जुम्ला पाठाएको जानकारी दिए ।


क्याम्पस परिसरमा शिलान्यास गरिएको प्राविधिक भवन रु. ८० लाख लागतमा निर्माण सम्पन्न गरिने निर्माण समितिका संयोजक अवराज खड्काले बताए ।
भवन शिलान्यास लगत्तै आयोजित कार्यक्रममा मन्त्री पोखरेललाई ज्ञापन-पत्र समेत बुझाईएको थियो । वागेश्वरी क्याम्पसका नव नियुक्त अध्यक्ष नरेन्द्र न्यौपानेले आंगिक क्याम्पस भएपछि हालका कर्मचारीहरुलाई उचित तवरले मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत समायोजन गर्नुपर्ने, क्याम्पसमा विभिन्न प्राविधिक शिक्षाकालागि मन्त्रालयले पहल गर्नुपर्ने लगायतका माग सहितको ज्ञापन-पत्र बुझाएका थिए ।

  • २८ असार २०७५, बिहीबार १०:२७ प्रकाशित
  • Nabintech