७ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा सुपारी दिएर आफ्नै भाई-बुहारीको हत्या
  • काँचुली खबर

साउन १०, कोहलपुर । बाँकेको कोहलपुरमा मंगलबार बिहान मृत अवस्थामा भेटिएका दम्पतीको हत्या भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान कोहलपुर नगरपालिका-१४ पार्वतिपुरमा २५ वर्षीय कृष्ण गडरिया र २२ वर्षीया अञ्जली गडरिया आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका थिए । घटनाको प्रारम्भीक अनुसन्धानबाट उनिहरुको हत्या भएको पुष्टि भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले जानकारी दिएका छन ।

प्रहरी प्रमुख मल्लका अनुसार मृतक कृष्णका आफ्नै दाईले उनिहरुको हत्याको योजना बनाएको खुल्न आएको छ । मृतक कृष्णका दाई विजय गडरियाले भारतबाट दुई जना कन्ट्र्याक किलरलाई बोलाएर भाई-बुहारीको हत्या गराएको प्रहरीले जनाएको छ । सुरुमा बुहारीको मात्र हत्या गर्ने योजना बनाएपछि कन्ट्र्याक किलरले भाईको समेत हत्या गरेको विजयले प्रहरी समक्ष स्विकार गरेको मल्लले जानकारी दिए ।

उनीहरुको हत्या गर्न भारतबाट ५०/५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको थियो । गएराति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको प्रहरीले बताएको छ । दुई जनाको हत्या हुँदा माथिल्लो तलामा विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको भनाई छ ।

कृष्ण र अञ्जलीको शब शंकास्पद अवस्थामा भेटिएको र घरमा मृतकका दाई भाउजु मात्र रहेको देखिएपछि प्रहरीले विजयलाई नियन्त्रण लिई सोधपुछ गरेको थियो । सोधपुछका क्रममा विजयले विजयले प्रहरीलाई विगत केही महिना अगाडि अञ्जलीले श्रीमान र ससुरालाई घरायसी विषयमा उक्साएर आफूलाई कुटपिट गर्न लगाएका कारण सुपारी रकम दिएर बुहारीलाई मार्न लगाएको बयान दिएका छन् । अञ्जलीलाई मात्र मार्न भनी सुपारी दिएपनि भाईको पनि हत्या भएको उनले स्विकारेका छन् ।

कृष्णको हातमा चोट देखिएको र अञ्जलीको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको देखिएकोले उनीहरुको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । घटना घटेको २४ घण्टाभित्रै मंगलबार दिउँसो पत्रकार सम्मेलन मार्फत घटनाको प्रारम्भीक रिपोर्ट सार्वजनिक गरेको प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

  • १० श्रावण २०७९, मंगलवार १८:१० प्रकाशित
  • Nabintech