१३ बैशाख २०८१, बिहीबार
कानुनी रुपमै खेलाडीको पुरस्कार सुनिश्चित गछौं : मन्त्री अथक

“अरुको निगाहबाट होईन, अब कानुनी रुपमै खेलाडी पुरस्कृत हुनेछन”

  • काँचुली खबर

साउन ५, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रकालागि पदक ल्याउने खेलाडीहरु कानुनी रुपमै पुरस्कृत हुने प्रावधान कायम गर्न लागिएको बताएका छन । खेलाडीको मनोबल बढाउनेतर्फ सरकार अग्रसर रहेको बताउदै मन्त्री अथकले राष्ट्रबाट प्रदान गरिने पदक खेलाडी र प्रशिक्षक बाहेक अरुले लिने परम्परालाई पूर्ण रुपमा अन्त्य गरीने बताए । उनले कसैको निगाहबाट होईन, कानुनी रुपमै खेलाडीहरु पुरस्कृत हुने प्रावधान बनाएर पुरस्कार रासीको निर्धारण गर्न मन्त्रालय लागीपरेको बताएका हुन ।

१९ औं एशियाली खेलकुदका लागि पहिलो चरणको प्रशिक्षण पुरा गरेका खेलाडीहरुकालागि बुधबार काठमाण्डौंमा आयोजना गरिएको पुनर्ताजगी कार्यक्रममा बोल्दै मन्त्री अथकले राष्ट्रका लागि पसिना बगाउने खेलाडीकालागि कानुनी रुपमा पुरस्कारको ब्यवस्था गर्न लागिएको बताएका हुन । उनले खेलकुद मार्फत राष्ट्रको प्रतिष्ठा बढाउन सबैको सामुहिक संकल्प आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रको गरिमा बढाउन सबैले सामुहिक प्रण गर्नुपर्ने बताएका छन ।

पछिल्लो केही दशकयता नेपालले अन्तराष्ट्रिय खेलमञ्चमा राम्रो नतिजा ल्याउन नसकेकोतर्फ ईगिंत गर्दै मन्त्री अथकले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा सुखद सुरुवात गर्नुपर्ने बताए । त्यसकालागि प्रशिक्षणलाई निरन्तरता दिन निर्देशन दिदैं मन्त्री अथकले खेल प्रशिक्षणकालागि आर्थिक अभाव हुन नदिने प्रतिवद्धता समेत जनाएका छन । एशियाली खेलकुद प्रशिक्षणकालागि १० करोड बजेट बिनियोजन गरीएको र आवश्यक परेको खण्डमा बजेटको आकार थप बढाउन सकिने उनले प्रष्ट पारे ।

आफुले मन्त्रालय सम्हालेदेखी सिंहदरबारलाई खेल बुझाउने प्रयास गरीरहेको उल्लेख गर्दै मन्त्री अथकले खेललाई सामान्य गतिविधिको क्षेत्रका रुपमा मात्र नबुझ्न आग्रह समेत गरे । “हामीले सिंहदरबारलाई खेल बुझाउने संकल्प गरेका छौं” मन्त्री अथकले भने, “खेललाई विज्ञानका रुपमा, शिक्षाका रुपमा विकास गर्ने प्रयास भईरहेको छ ।”

मन्त्री अथकले स्कुल स्तरबाट नै खेलकुदलाई विकास गर्न “एक विद्यालय, एक खेल पुर्वाधार” निति लागु गरीएको बताए । साथै नेपालमै पहिलो पटक खेल विश्वविद्यालय संचालनको तयारी समेत भईरहेको उनले बताए ।

खेल विकासका लागि सातै प्रदेशमा अन्तराष्ट्रिय खेल मैदान बनाउने सोचले सरकार अगाडि बढेको बताउँदै मन्त्री अथकले पूर्वाधारलाई प्राथमिकताका साथ अगाडी बढाउने लक्ष्य रहेको बताए । चालु आर्थिक वर्षमा मुख्य ठुला खेल पुर्वाधारलाई सम्पन्न गर्ने गरी प्रक्रिया अगाडी बढाईएको उल्लेख गर्दै केही वर्षभित्रै नेपाल खेल पुर्वाधारको हिसावले सक्षम हुनेमा विश्वस्त रहेको मन्त्री अथकको भनाई थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रको गौरव बढाउने र नेपालको शिर उच्च गराउने कार्यमा खेलाडीहरूले महत्वपूर्ण भूमिका हुने बताए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य सचिव टंकलाल घिसिङ लगाएतले उत्कृष्ट प्रतिफलकालागि खेलाडीहरुलाई कडा मिहेनत गर्न आग्रह गरेका थिए ।

  • ५ श्रावण २०७९, बिहीबार १०:१९ प्रकाशित
  • Nabintech