१६ चैत्र २०८०, शुक्रबार
अग्रज खेलाडीलाई सम्मान र नयाँलाई प्रोत्साहन गरौं : मन्त्री अथक
  • काँचुली खबर

८ असार, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडीहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएका छन । मंगलबार ओलम्पीक दिवस २०२२ को अवसरमा काठमाण्डौंमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री अथकले पुराना खेलाडीहरुलाई सम्मान गर्दै नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने संस्कारको विकास गर्नुपर्ने बताएका हुन ।

नेपाल ओलम्पियन संघले आयोजना गरेको ओलम्पियनहरुबीचको पुनर्मिलन कार्यक्रममा मन्त्री अथकले ईतिहास बोलेका खेलाडीहरुलाई राज्यले उचित सम्मान दिन नसकेको भन्दै दु:ख समेत ब्यक्त गरे । राज्यले खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक रहेको उल्लेख गर्दै मन्त्री अथकले भने, “यो भन्दा तपाईहरुलाई आश्चर्य लाग्छ होला, तर सिंहदरबार खेलकुदप्रति सकारात्मक छैन ।”

खेलकुदसँग सम्बन्धित फाईल रोक्नुलाई सिंहदरबारभित्र ठुलो उपलब्धीका रुपमा लिने गरीएको जिकिर गर्दै मन्त्री अथकले काम गर्न खोज्दा आफु र आफ्नो मन्त्रालयले ११ वटा भन्दा बढि मुद्धा खेप्नुपरेको बताए ।

यद्यपी विभिन्न समस्याकाबिच नेपाली खेलकुद क्षेत्रको विकासमा पछिल्लो समय धेरै सरकारात्मक प्रयासहरु भएको मन्त्री अथकले दावी गरे । विश्वको उदाउँदो अर्थतन्त्रका रुपमा रहेको खेलकुदलाई उद्योग तथा आर्थिक क्षेत्रका रुपमा विकास गर्ने मन्त्रालयको सोच रहेको मन्त्री अथकको भनाई थियो ।

अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनितिका रुपमा समेत विश्वमा खेलकुदलाई लिने गरीएको उल्लेख गर्दै मन्त्री अथकले नेपालले समेत खेल कुटनिति मार्फत अन्तराष्ट्रिय सहयोग जुटाउने प्रयास गरीरहेको बताए ।

उनले पालिका र प्रदेश सरकारले खेलाडी उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताए । “हामीले ग्रास रुट लेभलबाटै खेलाडी उत्पादनमा जोड दिनुपर्छ” मन्त्री अथकले भने, “प्रतियोगिताको समयमा मात्र खेलाडी खोज्ने अरुबेला मतलव नगर्ने प्रवृत्तिले नयाँ खेलाडी उत्पादन तथा पुराना खेलाडीहरुको ब्यवस्थापनमा समस्या देखिएको छ ।”

मन्त्री अथकले ओलम्पीक तथा विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएका ऐतिहासिक खेलाडीहरुको सम्मानमा खेलकुद संग्राहलय बनाउनुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा सन् १९६४ को टोकियो ओलम्पिकदेखि २०२० सम्म नेपालबाट ओलम्पिक खेलेका १२ जना ओलम्पियनहरुलाई सम्मान समेत गरीएको थियो । सम्मानित हुने ओलम्पियनमा बक्सिङका नामसिंह थापा, रामप्रसाद गुरुङ, उमेश मास्के, रविराज थापा, नरेन्द्र पोमा, एथलेटिक्सका वैकुन्ठ मानन्धर, जीतबहादुर केसी, भक्तबहादुर सापकोटा, लक्ष्मण बस्नेत, रघुराज वन्त, मुकुन्दहरि श्रेष्ठ र भारोत्तोलनका राजेन्द्र प्रधान रहेका छन् । नेपालबाट अहिलेसम्म समर ओलम्पिकमा ८४ र युथ ओलम्पिकमा ४ गरि कुल ८८ जना खेलाडीले ओलम्पिकमा सहभागीता जनाईसकेका छन । जसमध्ये ९ ओलम्पियनको निधन भईसकेको छ ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक), राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, महानायक राजेश हमाल, कलाकार मदनकृष्ण श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो ।

  • ८ असार २०७९, बुधबार १५:३१ प्रकाशित
  • Nabintech