८ बैशाख २०८१, शनिबार
लुम्बिनीको बजेटमा बाँकेका दश योजना समावेश
  • काँचुली खबर

असार ४, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा बाँकेका १० योजना समावेश गरेको छ । लुम्बिनी प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो । जेठ २५ गते प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा बाँकेलाई उपेक्षा गरीए पनि बजेटमा भने बाँकेका योजनाहरु सन्तोषजनक रुपमा समेटिएका छन । यद्यपी यो प्रयाप्त भने नभएको स्थानिय बताउँछन ।

गत बुधबार प्रदेशसभामा आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गरेको बजेटमा नेपालगन्जमा गुणस्तर मापन प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याउन बजेट छुट्याइएको छ ।

गुणस्तर मापन प्रयोगशाला स्थापनाका लागि एक करोड ४७ लाख रकम विनियोजन भएको आर्थिक मामिला तथा सहकारीमन्त्री खड्काले जानकारी दिए । ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने नीतिअनुरुप खाद्य वस्तु तथा औद्योगिक उत्पादनको गुणस्तर मापन गर्न नमुना परियोजनाको रुपमा नेपालगन्जमा गुणस्तर मापन प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइनेछ,’ उनले भने ।

सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका व्यक्तिको उपचार नेपालगन्जको भेरी अस्पतालबाट गर्न सकिने व्यवस्था बजेटमा गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा नेपालगन्ज आसपासका क्षेत्रमा एग्रो मार्ट स्थापना गरी सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । स्थानीय उत्पादनको बजारीकरणका लागि नेपालगन्ज विमानस्थल नजिकै कोशेली घर सञ्चालनमा ल्याइने बजेटमा उल्लेख गरिएको छ ।

आर्थिक मामिला तथा सहकारीमन्त्री खड्काले संघ सरकारसँगको समन्वयमा रुपन्देहीको मोतिपुर, बाँकेको नौवस्ता औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि प्रोत्साहित गरिने बताए । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा छेकबार लगाइ क्षति न्यूनीकरण गर्न आवश्यक बजेटको व्यवस्था बजेटमा गरिएको छ ।

‘संघ सरकारसँगको सहयोग र समन्वयमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा छेकबार लगाइ ‘वन्यजन्तु सुरक्षित गाउँबस्ती कार्यक्रम’ सञ्चालन गरी क्षति न्यूनीकरण गर्न आवश्यक बजेटको व्यवस्था गरेको छुँ,’ मन्त्री खड्काले भने ।

दाङ, बाँके र सबै पहाडी जिल्लामा जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विकास कार्यक्रम कार्यान्वयनका लागि बजेट छुट्याइएको छ । यो कार्यक्रम सञ्चालनको लागि चार करोड ७४ लाख विनियोजन गरिएको हो ।

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग बाँकेको बागेश्वरीलगायतलाई ऐतिहासिक, धार्मिक र प्राकृतिक बाइसेचौबिसे सर्किटका गन्तव्यस्थलको रुपमा विकास गर्न बजेट विनियोजन गरिएको छ ।

बाँकेको परसपुर बेलभार राधापुर सहादतपुर सडकका लागि समेत आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन भएको छ । यो सडकलगायतका प्रदेशका अन्य सडकका लागि ९६ करोड विनियोजन गरिएको मन्त्री खड्काले जानकारी दिए । डुडुवाको मञ्जुरबाबा समाधिदेखि छोटी भन्सार जोड्ने सडकलगायत १८ वटा सडकका लागि २६ करोड २५ लाख विनियोजन गरिएको छ । प्रदेश सरकारले ल्याएको बजेटलाई केही सम्बोधन गरेको यहाँका बासिन्दाहरुको भनाइ छ ।

बजेटमा बाँकेका योजनाहरु

– नेपालगन्जस्थित भेरी अस्पतालमा सशस्त्र द्वन्द्वको क्रममा घाइते भएका व्यक्तिहरुको उपचार सेवा विस्तार गरिने ।

– नेपालगन्जमा गुणस्तर मापन प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइनेछ । उक्त कार्यक्रम कार्यान्वयन गर्न एक करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

– नेपालगन्ज विमानस्थल नजिकै कोशेली घर सञ्चालनमा ल्याइेनछ ।

– बैजनाथस्थित नौवस्ता औद्योगिक क्षेत्र स्थापनाका लागि प्रोत्साहित गरिनेछ । नौवस्तासहित प्रदेशका विभिन्न जिल्लामा रहेका क्षेत्रहरुलाई प्रदेश मातहतमा ल्याउन पहल गर्ने ।

– बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा छेकबार लगाइ ‘वन्यजन्तु सुरक्षित गाउँबस्ती कार्यक्रम’ सञ्चालन गरिने उल्लेख छ । क्षति न्यूनीकरण गर्न आवश्यक बजेटसमेत छुट्याइएको छ ।

– बाँकेसहितका सबै पहाडी जिल्लामा जडिबुटी तथा गैरकाष्ठ वन पैदावर विकास कार्यक्रम कार्यान्वयन गरिनेछ ।

– बाँकेको बागेश्वरीलाई धार्मिक प्राकृतिक बाइसेचौबिसे सर्किटअन्तर्गत गन्तव्यस्थलका रुपमा विकास गर्न बजेट विनियोजन गरिएको छ । यो सर्किटअन्तर्गत प्रदेशका विभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिकस्थल समावेश छन् ।

– भैरहवा र नेपालगन्ज विमानस्थल आसपासको क्षेत्रमा एग्रोमार्ट स्थापना गरी सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

– बाँकेको मञ्जुरबाबा समाधिदेखि छोटी भन्सार जोड्ने सडक र परसपुर बेलपुर राधापुर सहादतपुर सडक निर्माण गरिने ।

  • ४ असार २०७९, शनिबार १६:३९ प्रकाशित
  • Nabintech