७ जेष्ठ २०८१, सोमबार
‘एसपीपी’मा ओली-क्षेत्रीको मिलिभगत, २०७२ सालमै भएको थियो पत्राचार
  • काँचुली खबर

२ असार, काठमाण्डौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक २०७२ सालमा सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग ‘नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी)’ सम्झौताका लागि पत्राचार गरेको पाईएको छ ।

प्राप्त जानकारी अनुसार २७ अक्टोबर २०१५ मा क्षेत्रीले अमेरिकी राजदूत अलाइनना बी टेप्लिजलाई नेशनल गार्डको पार्टनरसिप प्रोग्राममा (एसपीपी) सहभागी हुन पत्र पठाएका थिए ।

क्षेत्रीले पत्र पठाउँदा केपी शर्मा ओली प्रधानमन्त्री थिए । ओली ११ अक्टोबर २०१५ मा संसदबाट प्रधानमन्त्री निर्वाचित भएका थिए । त्यतिबेला पठाइएको पत्रमा क्षेत्रीले नेपाल सरकारबाट अनुमति प्राप्त भएअनुसार औपचारिकरुपमा स्टेट पार्टनरसिप प्रोग्राम स्थापनाका लागि आग्रह गरेको उल्लेख गरेका छन् ।

तत्कालीन प्रधानसेनापति क्षत्रीले नेपालस्थित तत्कालीन अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई औपचारिक पत्राचार गर्दै नेपाल सरकारको तर्फबाट एनजीएसएसपी कार्यक्रममा निकट भविष्य नै सामेल हुन इच्छुक रहेको स्पष्ट पारेको तीन बुँदे पत्रको पहिलो बुँदामा उल्लेख गरिएको छ ।

यस्तै, दोस्रो बुँदामा भने यस कार्यक्रममा सहभागी हुँदा यसले दीर्घकालीन तथा दुई पक्षलाई नै फाइदा पुग्ने गरी सुरक्षा सम्बन्ध मजबुत हुनुका साथै सैन्य कुशलता तथा अनुभव आदानप्रदानमा सहयोग पुग्ने तथा सुरक्षा ज्ञान आदानप्रदान गर्न मद्दत पुग्नुका साथै सुरक्षा समन्वयमा थप क्षमता वृद्धि हुनेछ बताईएको छ । यस कार्यक्रमले दुवै पक्षको चाहना रहेको प्रकोप प्रतिकार्य तयारी तथा व्यवस्थापन, वायुसेवा पूर्वाधार व्यवस्थापन र सुरक्षा आदानप्रदान र संवेदनशील पूर्वाधार विकासका साथै नेपाली सेनाका अधिकारीहरुको व्यावसायिकरण र विकासमा सहयोग पुग्ने समेत उल्लेख गरीएको छ ।

साथै, तेस्रो बुँदामा नेपाली सेना यस कार्यक्रमका लागि तत्पर रहेको हुँदा नेपालस्थित अमेरिकी दूतावासलाई उच्च प्राथमिकता दिन आग्रह गरिएको छ । यो पत्र सम्बन्धमा नेपाली सेनाले अध्ययन गरिरहेको बताएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले सार्वजनिक भएको पत्रबारे अध्ययन भइरहेको र सबै बुझेपछि प्रतिक्रिया दिने बताए ।

  • २ असार २०७९, बिहीबार १८:५४ प्रकाशित
  • Nabintech