१६ चैत्र २०८०, शुक्रबार
दैनिक २० हजारको मौसमी बेलुन उडाइँदै
  • काँचुली खबर

मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले दैनिक २० हजार रुपैयाँको मौसमी बेलुन उडाउँदै आएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा यही असार ६ गतेदेखि बेलुन उडाउन शुरु गरिएको हो । प्रत्येक दिन कीर्तिपुरबाट बिहान ५ः३० बजे बेलुन उडाउने गरेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिए ।

उडाइएको बेलुन ३१ दशमलव ६ किलोमिटरमाथिसम्म पुगी बिहान ९ बजेसम्ममा काठमाडौँ र नुवाकोटका सिमाना आसपासमा खस्ने गरेका छन् । हाइड्रोजन ग्यास भरिएका यस्ता बेलुन माथि बढ्दै जाँदा न्यून हावाको चापका कारण फुक्दै जाने र एउटा उचाइमा पुगेपछि फुट्ने गर्छ । बेलुनमा जडित सेन्सरले नियमितरूपमा मौसमी तथ्याङ्क पठाउने उनले बताए ।  मौसमी बेलुन उड्दाको सरदर गति छ मिटर प्रतिसेकेण्ड र झर्दाको गति तीन मिटर प्रतिसेकेण्ड हुने गरेको छ ।

विभागका महानिर्देशक शर्माका अनुसार बेलुनले प्रत्येक सेकेण्डमा उच्च वायुमण्डलको तापक्रम, हावाको गति र दिशा, सापेक्षिक आद्रताको जानकारी दिन्छ । त्यसको आधारमा मौसम पूर्वानुमान गरिन्छ । उनले भने, “अहिले हामीले बेलुनमार्फत डाटा संकलन गरिरहेका छा, सफ्टवेरमा काम भइरहेको हुन्छ, यसलाई छिट्टै सञ्चालनमा लैजान्छौँ, यसबाट नेपालको मनसुन पूर्वानुमान गर्न सजिलो र भरपर्दो हुनेछ ।”

अहिले अनुमानका भरमा भइरहेको मनसुन आगामी दिनमा बढी भरपर्दो हुने विभागको दाबी छ । हाल मौसम पूर्वानुमान महाशाखाले ग्लोवल मोडेलबाट नेपालको तीन दिनसम्मको मनसुन पूर्वानुमान गर्दै आएको छ । छिमेकी मुलुक भारतमा भने सातदेखि १० दिनसम्मको मौसम पूर्वानुमान गरिन्छ ।

“शुरुमा तीनदिनको मौसमलाई बढी भरपर्दो बनाउँछौँ, पछि थपेर सात दिनसम्मको मौसम पूर्वानुमान गर्ने योजना छ । मौसमी बेलुनले माथिल्लो वायुमण्डलसम्म पुगेर मौसमको विवरण दिने भएकाले पूर्वानुमान गर्न सहज हुनेछ”, महानिर्देशक शर्माले भने ।

अहिले उडेको बेलुन ३१ दशमलव ६ किलोमिटर उचाइमा पुगेर फुट्ने गरेको छ । बेलुन झर्दा त्यसमा झुण्ड्याइएको प्यारासुटको माध्यमबाट विस्तारै झर्ने हुँदा जोखिम अत्यन्त कम हुन्छ । यसरी प्रयोग भइसकेका बेलुन कसैले फेला पार्नुभएमा विभागमा पु¥याइदिनुहुन वा सम्पर्क गर्नुहुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

यससम्बन्धी सूचना पनि उडाइएको उपकरणमा टाँस गरिएको विभागले जनाएको छ । माथिल्लो वायुमण्डलको मौसमी सूचना मौसम पूर्वानुमानका लागि यस्तो बेलुन उपयोगी हुने र पूर्वानुमान अझ भरपर्दो हुने विश्वास विभागले लिएको छ ।यस्तो बेलुन भरपर्दो मौसमी सूचना प्राप्त गर्नका लागि सधैँ उडाइरहनुपर्ने विभागले जनाएको छ ।

मौसमी राडार जडान तीव्रगतिमा

मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन विभागले मुलुकमै पहिलोपटक ‘मौसमी राडार’ जडान कार्यलाई तीव्रता दिएको छ । मौसमी पूर्वसूचनालाई प्रभावकारी बनाउन सुर्खेतको रातानाङ्ला, पाल्पाको सिद्धिकोट र उदयपुरको नामेटारमा मौसमी राडार राख्न लागिएको महानिर्देशक शर्माले जानकारी दिए ।

उनका अनुसार आगामी चार महिनाभित्र सुर्खेतमा राडार जडान भइसक्नेछ भने क्रमशः पाल्पा र उदयपुरमा पनि राडार जडान गरिनेछ । तीमध्ये सुर्खेतको राडारका लागि एशियाली विकास बैंकको जलवायु प्रकोप समुत्थानबाट आर्थिक सहयोग मिलेको छ भने बाँकी दुई स्थानको राडारका लागि नेपाल सरकारले खर्च गर्नेछ । राडार जडानसहित प्रतिराडार जम्मा खर्च करीब रु २० करोड लाग्नेछ ।

मौसमी सूचना प्रणालीको अत्याधुनिक उपकरण राडार राखेपछि समयमै सही सूचना सहजरुपमा प्राप्त हुनेछ । यसले मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप बाढी, पहिरो आदि घटनालाई न्यूनीकरण गर्न सहयोग पुग्ने महानिर्देशक शर्माको भनाइ छ ।

सीमित उपकरण भए पनि विभागले मौसम तथा प्राकृतिक प्रकोपका घटनाबारे पूर्व सूचना प्रदान गर्दै आएको छ । विभागले हाल काठमाडौँ उपत्यकासहित देशका १२० स्थानमा स्वचालित मौसमी उपकरणबाट मौसमी सूचना लिने गरेको छ । सो संख्यालाई विभिन्न स्थानमा बढाएर ३०० पु¥याइने र यसबाट तथ्य सङ्कलन र बढी सूचना प्राप्त गर्न सकिने विभागको योजना छ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मौसमी सूचना संकलन गरी आफ्नो वेबसाइटमा राख्ने गरेको छ । नेपालमा तीन दिनसम्मको मात्र मौसम पूर्वानुमान हुने गरेको छ ।

  • २६ असार २०७५, मंगलवार १९:४२ प्रकाशित
  • Nabintech