१३ बैशाख २०८१, बिहीबार
माछा मारेर परिवार पाल्ने वादी नगरप्रमुखको दौडमा
  • काँचुली खबर

वैशाख २३, रुकुम पश्चिम / पुष्प वादीको पुर्ख्यौली पेशा माछा मार्नु हो । उनी घरछेउको जहारीखोलाका माछा मारेर बेच्ने गर्छन् । यसका साथै मादल बनाउने‚ कक्कड खाने‚ सुल्पा बनाउने सीप पनि उनमा छ । उनै पुष्प वादी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको दौडमा छन् ।

नेकपा माओवादीले चौरजहारी नगरप्रमुखको उम्मेदवार बनाएर वादीलाई चुनावी दौडमा खटाएको छ । पुष्प पछिल्ला केही दिनयता नेता, कार्यकर्तासित मतदाता भेटघाटमा व्यस्त छन् । आफूलाई मतदानका लागि उनले भेटघाट, छलफल र अन्तरक्रियालाई जारी राखेका छन् । माओवादीको वैकल्पिक केन्द्रीय सदस्य वादी सरल जीवनशैली अपनाउने नेताका रुपमा चिनिन्छन् ।

‘म चुनावी मैदानमा होमिएको छु । पार्टीले मेरो क्षमता, योग्यता बुझेर टिकट दिएपछि चुनावमा लागेको हुँ,’ वादीले भने, ‘मेरो उम्मेदवारीले आम सर्वसाधारणमा उत्साह पैदा भएको महसुस गरिरहेको छु ।’ आफूलाई टिकट दिनु भनेको आम उत्पीडित समुदायप्रतिको सम्मान र संघीयता, समावेशिताप्रतिको वफादारिता भएको उनले बताए ।

नगरप्रमुखमा निर्वाचित भएपछि आफ्नो धरातल नबिर्सिने वादीले बताए । ‘मेरो सीप अहिले पनि छ । म हाम्रो समुदायको पुर्ख्यौउली पेशामा पनि अब्बल छु । आवश्यकता र मागले अब चुनावी मैदानमा खटिएको हुँ‚’ उनले भने । २०५७ सालतिर माओवादीका पूर्णकालीन कार्यकर्ता बनेका वादी त्यो समयमा पनि माछा मारेर परिवार पाल्ने गर्थे । उनी त्यसबेला पार्टीको कार्यक्रममा पनि हिँड्नेस राति घर फर्किएर माछा मारेर जीविकोपार्जन गर्ने गर्थे । रातभर आफूले मारेका माछा बिहान श्रीमतीले बेच्ने गरेकाले र त्यसैबाट परिवार पालिएको उनले सुनाए । शान्ति स्थापनापछि पनि आफूले पुरानो पेशा नछाडेको उनको भनाइ छ ।

वादी समुदाय उत्थान विकास समितिको उपाध्यक्ष भएर उनले ४ वर्ष काम गरेका थिए । त्यसपछि पुनः गाउँमै फर्किएर पुरानै पेशामा रहेको वादीले बताए । ‘राजनीतिमा सक्रिय हुँदा पुरानो पेशा केही ओझेलमा परे पनि फुर्सद हुँदा आएको काम गर्न कुनै हिनताबोध छैनस गरिरहेकै छु,’ उनले भने । पार्टीको काम हुँदा पार्टीको काम र नहुँदा जनतासितै आफ्नो पेशा अपनाइरहेको उनले बताए ।

वादी समुदायबाट नगरप्रमुखको टिकट पाएपछि पार्टीभित्र मात्रै नभएर पार्टी बाहिरबाट पनि त्यसको समर्थन प्राप्त भएको भन्दै वादीले पिछडिएको समुदाय, समेटिनुपर्ने समुदायको प्रतिनिधित्व सरकारमा हुने बताए । ‘नगरप्रमुख बनेपछि सबैको काम गर्नुपर्ने दायित्व त हुँदै होस बाँकी समस्यामा परेका, पारिएकाहरूमा पनि मेरो बढ्तै ध्यान जान्छ भन्ने कुरा सबैलाई लागेको छ,’ वादीले भने । वादी विकास समितिपछि दलित मोर्चाको नेतृत्व गरेर काठमाडौं बस्ने अवस्था भए पनि आफू आफ्नो समुदाय र गाउँको सेवाका लागि गाउँ फर्किएको उनले बताए । ४ वर्षे कार्यकाल सकिएलगत्तै गाउँ फर्किएर गाउँमा आफ्नै वर्ग र धरातलमा बसेर काम गरिरहेको उनले बताए ।

समृद्ध र नमूना नगरपालिका बनाउने योजना रहेको भन्दै उनले केही समयअघि चुनावी प्रतिबद्धता सार्वजनिक गरेका थिए ।

कान्तीपुरबाट

  • २३ बैशाख २०७९, शुक्रबार २२:०३ प्रकाशित
  • Nabintech