२७ बैशाख २०८१, बिहीबार
पोखरा-जनकपुर उडान सेवा सुरु
  • काँचुली खबर

निजी क्षेत्रको उडान कम्पनी बुद्ध एअरले पोखरा-जनकपुर उडान सेवा सुरु गरेको छ । शनिबार बुद्ध एअरले पहिलो पटक पोखरा-जनकपुर उडान भरेको हो । उडान सुरु गरेकै दिन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल बुद्ध एअरमार्फत मधेस प्रदेशको भ्रमणमा निस्केको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा ३ दिने भ्रमणका लागि मुख्यमन्त्रीसहितको टोली शनिबार जनकपुर पुगेको हो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा गत असोज ६ गते मधेस प्रदेशका मुख्यमन्त्री राउत नेतृत्व टोलीले पोखरा भ्रमण गरेको थियो । पोखरेल नेतृत्वको टोलीलाई जनकपुर विमानस्थलमा मधेस प्रदेशका पर्यटन मन्त्री शत्रुधन महतोले स्वागत गरे ।

गण्डकीको टोली विमानस्थलबाट सिधै मुख्यमन्त्री कार्यालय पुगेको थियो । मधेसका मुख्यमन्त्री राउतले संघ सरकारसँग पौंठेजोरी खेल्दै संघीयतालाई मजबुत बनाउने काममा सरकार लागेको बताए । जानकीको जन्मथलो जनकपुर र पोखराबीचको सम्बन्धलाई मजबुत बनाउने यो भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट सातवटै प्रदेशमा एअर कनेक्टिभिटी बढाउने लक्ष्यका साथ प्रदेश सरकारले समन्वय गर्दै आएको छ । जनकपुर पोखरा अब साताको २ दिन उडान हुनेछ । यसअघि मधेस प्रदेशको सिमरासम्म पोखराबाट बुद्ध एअर उडान थालिसकेको छ । सुदूरपश्चिमको धनगढीमा पनि यही बिहीबारबाट उडान सुरु भएको छ । भैरहवा, नेपालगन्ज र भरतपुरमा पनि पोखराबाट उडान हुँदै आएको छ ।

  • २१ फाल्गुन २०७८, शनिबार २१:३४ प्रकाशित
  • Nabintech