१३ बैशाख २०८१, बिहीबार
स्मृतीमा स्वर्गिय शिक्षक ‘डिलबहादुर’
  • काँचुली खबर

तिम्रा बालपनका जिन्दगीहरु कसरी बिते मलाई थाहा छैन । समय परिस्थितीले चिनजान गरायो, समय परिस्थिीले नजिक बनायो, कहिले संगै हिड्ने गोरेटोमा दौडिने परिस्थीती भयो होला । गाँउका उकाली ओराली हिडदै गर्दा होस वा सामाजिक कार्यमा सहभागीता जनाउदा होस यात कुनै मेला महोत्सवमा जाँदै गर्दा होस यात विद्यालयमा अध्ययनरत हुँदा होस ती सबैदिनहरु आजपनी ताजै छन् ।

जन्मपछी मृत्यु अवश्य हो । यो कसैले रोक्न र छेक्न सक्दैन । तर जिन्दगीको गोरेटोमा आफ्नो उमेर ढल्कदै गर्दा रमाउने र आनन्द लिने समयमा अचानक हुने मृत्यु नै सबैभन्दा दुखदायी क्षण हुन । बालापनका ती दिनहरुमा अभिभावकत्व मात्र नभई शिक्षाको ज्ञान दिने शिक्षक अर्थात समाजको एक जिम्मेवारी व्यक्ति डिल बहादुर विष्ट सरको २०७८ फागुन ९ को निधन सबैकालागी दुखदायी क्षण भयो । स्वर्गारोहण भएको अधिल्लो दिन तिमी विद्यालयमा थियौ ।

वर्षौ तिमीले बढाएका तिम्रा चेलाहरु देश तथा बिदेशमा छरिएर आफ्नो पेशामा लागि रहेका होलान । कति त तिम्रा गाँउठाँउमै होलान । तिमीले लगाएको शिक्षकको पोशाकमा राखिएका ती कलमहरुले तिमीलाई नै खोजिरहेका छन् । तिमीले पढाउने पुस्तकहरुले तिमीलाई नै खोजिरहेका छन् । तिमीसंगै एकै कुर्चीमा लामो समयदेखी अध्यापन गराइरहेका तिम्रा सहपाठीहरु तिम्रो प्रतिक्षामा छन् । तिमीले पढाउने विद्यालयका विद्यार्थीहरु तिमीलाई खोजिरहेका छन् । तिमीले विद्यालयमा अध्यापन गराएका ती विद्यार्थीहरुले तिम्रो कक्षा अध्यापन रोकिदा सायद मलिन अनुहारमा भन्दाहुन कि हाम्रा गुरुको असमायिक निधन भएको हो । परिस्थितीले सबैलाई सधै एकैनास एकैठाँउ रहन कहाँ दिन्छन् । विद्यालयका भित्ताहरुमा टाँसिएका तिम्रा नाम र तस्विरहरु केवल सम्झनाका लागी मात्र रहनेछन् । तिम्रा आफ्न्तहरुले केवल तस्वीरमा मात्र देख्न पाउनेछन् । हरेक दिनको दैनिकी शिक्षक पेशामा बिताएका ती कयौँ पलहरु र साथीभाईसँग बिताएका ती अविस्मरणीय क्षणहरु तिम्रा साथीभाईहरुका लागी सधै सम्झना रहीरहनेछ । हरेक मानिसहरुका आफ्ना कमिकमजोरी हुन्छन्, राम्रा नराम्रा गुणहरु हुन्छन् तरपनी कसैको पनी व्यक्तिगत जीवनका बारेमा व्याख्या गर्नु उपयुक्त हुँदैन । केवल हामीले सकरात्मक विषयलाई बढि ध्यानदिनुपर्छ जस्तो लाग्छ ।

मानिस जन्मदाको क्षण हुर्कदै गर्दा विभिन्न संघर्षका खुटकिलाहरु पार गर्दै जाँदा कहिले कहाँ ठोकिन्छ कहिले कहाँ ठोकिन्छ, कहिले सफल हुन्छ कहिले असफल हुन्छ । यो लेख लेखिरहदा मनमा थुप्रै्र प्रश्नहरु उठिरहेका छन । थुप्रै विषयहरु मन्थन हुन्छन्, निष्र्कष खोजिन्छ यस्तै यस्तै रहेछ जिन्दगी, तिम्रो मृत्युको खबर पाउदा कयौँ तिम्रो मलामी गएहोला । कयौँ आउन नपाएर तिम्रो नाममा श्रदाञ्जली लेखे होलान, समय र परिस्थीतीले कयौँ आफन्तहरु तिम्रो मलामी जान नपाउदा दुखी भएपनी होलान् । तिमीलाई चित्तामा जलाउदै गर्दा तिम्रा आफ्न्त र घरपरिवारका सदस्यहरु भावविवहल भएहोलान्, आफ्ना सहपाटीहरुले आफ्ना सहकर्मीहरुको चितामा लास जल्दै गर्दा गहभरी आशु चुहिएको तस्विर मैले भेटेको थिए । सायद अब तिम्रा सहपाटीहरुसंग कहिल्यैपनी भेट हुँदैन । तिम्रो नामको अगाडी स्वर्गीय भन्ने शब्द जोडिएको छ । मानिसको मृत्युभएपछि स्वर्गमा बास हुन्छ भन्ने कर्थन हामीले सुन्छौ तर कसैले देखेको छैन । यदी रहेछ भने पनी तिम्रो स्वर्गमा बास होस । हिजो तिमी कसैको मलामी, बिहे वर्तवन्ध पुजाआजा, सामाजिक कारोवारोमा तिमी सहभागी भयौ होला सायद त्यही भएर होला तिम्रो सम्झना गर्दै यतिका मानिसहरु तिम्रो निम्ती श्रदाञ्जली दिन आएका । तिमीले समाजमा जती आफ्न्तहरु राखेका थियौ सबै आफन्तहरु तिम्रो मलामीमा उपस्थित भएको तस्विरहरु देखे । सामाजिक सञ्जाल फेसबुकमा तिम्रो तस्विर रगिएको छ, सयौ शुभचिन्तकहरुले तिम्रो बारेमा बयान गरिहेका छन् ।

तिमीले समाउने ती हलगोरुका आँखामा आशु चुहिएको छ, तिम्रो प्यारो काली भैँसीले तिम्रो बाटो हेरिरहेको छ । घरको आगनीमा बसेर उमेर ढल्केका जेष्ठ नागरिकहरु तिम्रो बारेमा चर्चा गर्दैछन् । असारे महिना सिमसिमे पानीमा रोपिने ती खेतबारीहरुले तिम्रो प्रतिक्षा गरिरहनेछन् । रोपाईमा बिउ काट्दै गर्दा डोकोमा बिउ बोकेर हिडेका ती दिनहरु साथीभाई स्टमित्रहरुका लागि सम्झना रहनेछ । घरको मुल्लीको रुपमा जिम्मेवारी समाल्दै गर्दा अबका दिनका तिम्रा छोराहरुका लागी त्यो भारी जिम्मेवारी थपिएको छ । तिमीले निभाउदै आएका कर्तव्यहरु तिम्रा छोराहरुले निभाउनुपर्नेछ । बडौदशै र दिपावलीमा रमाइलोका लागि साथीभाईहरुको कांधमा राखेर खेलिने भोसी तथा भैलोका लागि तिमीले ती काँधमा कहिल्यै हात राख्न पाउनेछैनौँ बरु साथीभाईले भन्नेछनकी तिम्रो कमी भएछ । दशै तिहारको अघिल्लो दिन साँझमा तिमीले बाँटने बाबियोको पिङ्गले तिमीलाई सम्झना गर्नेछ । विद्यालयमा अध्ययन गर्नाको लागी गाँउको अन्तिमबाट हिँडने बिद्याथीहरु विद्यालयसम्म संगै जाने ती दिनहरुको बाटोमा पुर्ण बिराम लाग्नेछ ।

पृथ्वी गोलो छ, भेट अवश्य हुन्छ भनेझै २०७८ मसिंर महिना हुनपर्छ सायद । गते ठक्याकै थाहा भएन । त्यतीबेला स्वास्थ्यमा समस्या आएपछी तिमीसंग मेरो भेट भएको थियो । सायद मेरो बिबेकले भ्याएसम्म र मैले सकेजती सहयोग गरेहोला सहयोग गर्दा गदैै पनी बाध्यताबस कतिपय सोचजती सहयोग गर्न पनी नसकिदो रहेछ । सायद त्यतीबेलाको मेरै कार्यकक्षमा हामीले चिया गफ पनी गरेका थियौँ । केही समयको बसाई पछी स्वास्थ्य सुधार भएर पुन आफ्नो जन्मभुमीमा तिमी फर्केका थियौँ र आफ्नो दैनिकी शिक्षक पेशालाई आवद्ध भयौ होला । शब्दहरु कोर्दै जाँदा अन्तिममा हार्दिक श्रद्धाञ्जली शब्द लेख्न बाध्य छु । यो भन्दा धेरै लेख्न मेरो सामथ्र्यले दिएन । सधैका लागी अस्ताएका कर्णाली प्रदेश डुङेश्वर गाँउपालिका वडा नं. २ जनकल्याण माध्यामिक विद्यालय सेर्माकोट दैलेखका शिक्षक तथा अभिभावक डिल बहादुर विष्टप्रति भावपूर्ण श्रदाञ्जली ।

 

श्याम कुमार विष्ट (कम्प्युटर अप्रेटर)
भेरी अस्पताल नेपालगञ्ज, बाँके

  • १० फाल्गुन २०७८, मंगलवार २३:२० प्रकाशित
  • Nabintech