७ बैशाख २०८१, शुक्रबार
पत्रकारको तलव ४० हजार बनाउन पत्रकार महासंघको माग
  • काँचुली खबर

काठमाडौं / नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग गरेको छ ।

पत्रकारको न्यूनमत पारिश्रमिक ४० हजार रुपैयाँ निर्धारण गर्नुपर्ने माग गर्दै आइतबार महासंघले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्यसचिव बालकृष्ण घिमिरेलाई पाँच बुँदे मागपत्र बुझाएको हो । नेपाल पत्रकार महासंघका सचिव तथा महासंघको श्रमजीवी हित प्रबर्द्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले सदस्य सचिव घिमिरेलाई भेटी उक्त पत्र बुझाएको हो ।

मागपत्र बुझाउँदै समितिका संयोजक दाहालले उल्लेखित माग तत्काल पूरा नगरिए आगामी साउन महिनादेखि न्यूनतम पारिश्रमिक निर्धारण समितिविरुद्ध दबाबमूलक कार्यक्रम संचालन गर्ने बताए ।

महासंघले पारिश्रमिक पुनरावलोकन सिफारिस २०७५ साउन १ गतेदेखि लागू गर्ने गरी सिफारिस प्रतिवेदनमै उल्लेख गर्नुपर्ने, देशभर स्ट्रिन्जरका रुपमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई व्यवस्थित गर्न एउटै मिडियामा ५ वर्ष निरन्तर काम गरिसकेका सबैलाई न्यूनतम पारिश्रमिकको मापदण्डमा ल्याउनुपर्ने, पारिश्रमिक भुक्तानी महिना मरेको पहिलो हप्ताभित्रै बैकिङ प्रणालीबाट गर्ने स्पष्ट मापदण्ड तोकिनुपर्ने र नयाँ पारिश्रमिक लागू भएसँगै संचार प्रतिष्ठानले लागू गरेको प्रमाणित कागजात न्यूनतम पारिश्रमिक निर्धारण समिति वा प्रेस रजिष्ट्रार समक्ष पेश गर्ने प्रावधान राख्न माग गरेको छ ।

सरकारले लागू गरेको मितिदेखि नयाँ पारिश्रमिक भुक्तान नगर्ने मिडिया हाउसलाई कारबाहीको स्पष्ट आधार खुलाउनुपर्ने माग समेत पत्रकार महासंघको छ ।

  • २४ असार २०७५, आईतवार १६:५५ प्रकाशित
  • Nabintech