२३ श्रावण २०७९, सोमबार
एलपी ग्याँस आयातमा नयाँ रेकर्ड
  • काँचुली खबर

खाना पकाउने ग्याँस आयातमा नयाँ रेकर्ड कायम भएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट गत अंग्रेजी वर्षको अन्तिम डिसेम्बर महीना आयात भएको ग्याँस हालसम्मकै धेरै भएको निगमका सहायक निर्देशक एवं प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

सन् २०२१ को डिसेम्बर महीनामा निगमले भारतीय आयल कर्पोरेसनबाट ४९ हजार ८०४ मेट्रिक टन खाना पकाउने ग्याँस आयात गरेको उनले बताए । जुन गत वर्षको समीक्षा अवधिको तुलनामा ८ हजार ९९५ मेट्रिक टनले धेरै हो भने अघिल्लो महीनाको तुलनामा ४ हजार १५५ मेट्रिक टनले बढी ।

सिलिण्डरमा हिसाब गर्दा यो महीना ३५ लाख ७ हजार १९७ सिलिण्डर ग्याँस आयात भएको उपाध्यायले बताए । जुन गत वर्षभन्दा ६ लाख ३३ हजार ४२७ सिलिण्डरले बढी हो । समीक्षा अवधिको थप खपतको लागत मात्रै एक अर्ब ४० करोड ६९ लाख रुपैयाँभन्दा धेरै हुने निगमले जनाएको छ । ‘मासिक औसत ४४ हजार मेट्रिक टन हाराहारीमा हुने आयात डिसेम्बरमा आएर आकाशिएको छ । डिसेम्बरको आयात निगमको इतिहासमै अहिलेसम्मकै उच्च हो’, उपाध्यायले भने ।

यसअघि औसत मासिक २९ लाख सिलिण्डर हाराहारी ग्याँसको खपत हुने गरेको थियो । कुल वार्षिक खपतमा पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष ७३ हजार ४५१ मेट्रिक टन थप ग्याँस आयात भएको निगमले जनाएको छ । सन् २०२० मा कुल चार लाख ४३ हजार १८७ मेट्रिक टन खाना पकाउने ग्याँस आयात भएकोमा सन् २०२१ मा कुल ५ लाख १६ हजार ६३८ मेट्रिक टन ग्याँस आयात भएको छ ।

यसअघि सन् २०२१ को मार्चमा अहिलेसम्मकै सबैभन्दा धेरै ४६ हजार ९८४ मेट्रिक टन खाना पकाउने ग्याँस नेपाल भित्रिएको थियो । त्यसपछि सोही वर्षको मे महीनामा ४६ हजार २६५ मेट्रिक टन ग्याँस आयात भएको निगमको वार्षिक तथ्यांकमा देखिन्छ । सन् २०२० को मार्च महीनामा यसअघिकै उच्च ४५ हजार ३०० मेट्रिक टन ग्याँस आयात भएको थियो ।

भन्सार विभागले जारी गरेको चालु आर्थिक वर्षको ६ महीनाको वैदेशिक व्यापारको विवरणमा पनि धेरै आयात हुने तेस्रो वस्तुको रुपमा खाना पकाउने ग्याँस परेको छ । चालु आवको पुस मसान्तसम्म नेपालले २९ अर्ब २३ करोडको ग्याँस खरीद गरेको थियो ।

अनलाईनखबरबाट

  • ११ माघ २०७८, मंगलवार ०८:५३ प्रकाशित
  • Nabintech