२० मंसिर २०७९, मंगलवार
नागरिक संवादमा जनप्रतिनिधिको प्रशंसा
  • काँचुली खबर

बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. ४ मा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोग र युथ टुडे मिडिया नेटवर्क प्रालिको आयोजनामा कोरोना महामारी नियन्त्रणमा स्थानीय तहको चुनौति र अबको बाटो साथै वडा नं. ४ को बिकासमा नागरिकहरुको सहभागिता विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको हो । वडाबाट हुने सार्वजनिक सेवा प्रवाहका लागि नागरिकबाट गुनासो एवं सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले आम नागरिकलाई सर्वसुलभ ढंगले सेवा प्रवाह गर्दै आएको जानकारी दिए । उनले आम नागरिकको गुनासो तथा समस्यालाई तुरुन्त समाधान गर्न र नागरिकको काममा विलम्ब गर्ने अधिकार कसैलाई नभएको बताउदै जनतालाई दुख दिने कार्मचारीलाई कारवाही गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

संवाद कार्यक्रममा सहभागि स्थानीय एलिशा खत्रीले अन्य वडाको तुलनामा ४ नम्बरमा राम्रो काम भएको बताउँदै फोहर व्यवस्थापनमा ध्यान केन्द्रीत गर्न जनप्रतिनिधिहरुसँग आग्रह गरीन ।

यस्तै कार्यक्रमका सहभागि धर्म राज केसीले बिकास निर्माणको काममा वडा सबै भन्दा अगाडि रहेको बताए । उमा गौचनले जनता र जनप्रतिनिधि बिचको सम्बन्ध राम्रो भएको बताईन । द्रोपती बिष्टले स्थानीय निर्वाचन हुनु पूर्व कम्मर भरी पानीमा हिडेर आउनु पर्ने रोड स्थानीय निर्वाचन पश्चात जनप्रतिनिधिहरुको सक्रियतामा पिच रोड बनेको भन्दै खुसी ब्यक्त गरीन ।

सम्वाद कार्यक्रमका सहभागीहरुले जनप्रतिनिधिहरुलाई विभिन्न प्रश्न गर्नुका साथै विकास निर्माणको काममा ध्यान केन्द्रित गर्न आग्रह गरेका थिए ।

सहभागीहरुले उठाएका प्रश्नको जवाफ दिदै वडा अध्यक्ष बेहनाले संविधानमा सुनिश्चित गरिएको मौलिक हक र कर्तव्य, संविधानमा समेटिएका अन्य व्यवस्थाहरु जनताका अधिकार, महिला अधिकार, दलितका अधिकार आदिका बारेमा आफूहरु गम्भीर रहेको बताउदै बत्ती नभएको टोलमा तत्काल बत्ती लगाईने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष बेहनाले जनताको काममा ढिलासुस्ती नगर्न कर्मचारीहरुलाई आग्रह गर्दैे सार्वजनिक सेवा प्रवाहमा कुनै त्रुटि एवं गुनासो भए सिधा आफुलाई भन्न समेत आग्रह गरे ।

कार्यक्रममा वडा सदस्यहरु, कर्मचारीहरु, राजनितिक दलका प्रतिनिधिहरु, आम नागरिक, प्रहरी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

  • २८ पुष २०७८, बुधबार २१:४८ प्रकाशित
  • Nabintech