१३ बैशाख २०८१, बिहीबार
अपाङ्ग नवजिवन केन्द्रलाई कार्यालय संचालनमा समस्या
  • काँचुली खबर

कोहलपुर नगर भित्रका अपाङ्गता भएका नागरिकहरुको तथ्यांक संकलन कार्य सम्पन्न भएको छ । कोहलपुर नगरका १५ वटै वडामा गरिएको सर्वेक्षणबाट ७ सय ९० जना अपाङ्गता भएका ब्यक्तिहरुको तथ्याङ्क संकलन गरिएको हो ।
कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा अपाङ्ग नवजिवन केन्द्र कोहलपुरले हरेक वडामा स्वयंसेवक खटाएर तथ्याङ्क संकलन गरेको अपाङ्ग नवजिवन केन्द्र कोहलपुरकी अध्यक्ष विनिता शर्माले बताईन् ।
नेपालको संविधानले १० प्रकारका अपाङ्गहरुलाई अपाङ्गता क्षेत्रमा समावेश गरेपनि गम्भीरता का आधारमा ४ प्रकारका अपाङ्गहरु भेटिने गरेको शर्मा बताउँछिन ।

अपाङ्गहरुलाई परिचय पत्रको व्यवस्था गरि सेवा सुविधा पु¥याउने उद्धेश्यले रातो, निलो, पहेलो र सेतो कार्डमा वर्गिकरण समेत गरिएको छ ।
४ प्रकारका अपाङ्गता मध्ये पुर्ण अशक्तलाई रातो कार्ड र प्रति महिना २ हजार, अति अशक्तलाई निलो कार्ड र प्रति महिना ६ सय, मध्य अपांगतालाई पहेलो र सामान्य अपांगतालाई सेतो कार्डको व्यवस्था गरिएको अपाङ्ग नवजिवन केन्द्र कोहलपुरका कोषाध्यक्ष दयाराम अधिकारीले बताए ।
कोहलपुर नगरपालिका भित्र भेटिएका ७ सय ९० मध्ये केही अपाङ्गहरुमा हेमोफेलिया र अटिज्मको समस्या देखिएको छ ।
अपाङ्गहरुको हक, हितका पक्षमा वकालत गर्दै आएको अपाङ्ग नवजिवन केन्द्र कोहलपुरले पहिलोपटक नगरपालिकासँगको समन्वयमा नगरभित्रका अपाङ्गको तथ्याङ्क संकलन गरेको हो । २०६० मा स्थापना गरिएको केन्द्रले लामो समय अपाङ्गहरुको क्षेत्रमा काम गरेपनि सहयोगी निकायहरुको सक्रिय नहुँदा केही कठिनाईहरु भोग्नुपरेको केन्द्रकी अध्यक्ष शर्माले बताईन ।
शर्माका अनुसार स्थापनाकाल देखि उपभोग गर्दै आएको कोहलपुर चौराह नजिकै रहेको कार्यालयको अवस्था झनै दयनिय छ । नगरविकास समितिले ३ वर्षअघि निःशुल्क भवन उपलब्ध गराउने सम्झौता तोड्दै मासिक १८ सय भाडादर तोकेपछि थप समस्यामा परेको केन्द्रकी अध्यक्ष शर्माले दुखेसो पोखिन ।
जिर्ण अवस्थामा रहेको भवनमा कार्यालय संचालन गरेवापत तिर्नुपर्ने मासिक भाडादर तिर्न नसकिएपनि विजुलीवत्तीको मासिक १५ सय भने नगर विकास समितिलाई तिर्दै आएकोे अपाङ्ग नवजिवन केन्द्रका सचिव जंगबहादुर डाँगी बताउछन् ।
व्यापारिक केन्द्रको भाडा ५ सय लिएको नगर विकासले जिर्ण घर मर्मत सम्भार गर्नुको सट्टा मासिक १८ सय भाडा तोकेको भन्दै डाँगीले भने, ‘पानी पर्दा घरको भित्ताभरी करेन्ट प्रवाह हुन्छ, जोखिम मोलेरै भएपनि कार्यालय संचालन गर्दै आएका छौं ।’
हालसालै ९ वटा हिवल चेयर र ८ वटा ट्राईसाईकल वितरण गरेको उक्त संस्थाले सांकेतिक भाषा प्रशिक्षणकालागि नगरपालिका कार्यालयसँग बजेट माग गरिएको अध्यक्ष शर्माले बताईन ।
कोहलपुर नगरपालिकाले अपाङ्गहरुकालागि गत वर्ष ५ लाख बजेट छुट्याएको थियो । करिब ५० करोडको हाराहारीमा बजेट विनियोजन गर्दा अपाङ्गता क्षेत्रमा
५ लाख बजेट छुट्याएको नगरपालिका ले आगामी आ.व. मा कति रकम छुट्याउने हो त्यो हेर्न बाँकी नै छ ।
यसै सन्दर्भमा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटाले नीति तथा कार्यक्रममा अपाङ्ग मैत्री भवन नरहेको प्रष्ट पार्दै आगामी बजेटमा अपाङ्गहरुकालागि ५|७ लाखको कार्यक्रम छुट्याईएको बताए ।
अपाङ्गहरुकालागि शिक्षा, स्वास्थ्य र रोजगारको अवस्था सृजना गर्नुका साथै सबैको सहज पहुँचकालागि अपाङ्गमैत्री भवनको निर्माण प्रमुख चुनौती बनेको छ केन्द्रकी अध्यक्ष शमाले बताईन । शारीरिक, मानसिक र सामाजिक चुनौतीको सामना गरिरहेका अपाङ्गहरुको भवन र विद्यालय निर्माणमा सहयोग उनले सबैसँग आग्रह समेत गरेकी छन ।

  • २३ असार २०७५, शनिबार ०८:१८ प्रकाशित
  • Nabintech