१४ बैशाख २०८१, शुक्रबार
सहकारीको व्याज बढाउने होइन घटाउनु पर्छ : मन्त्री श्रेष्ठ
  • काँचुली खबर

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु स्थापनाको उदेश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिएकी छन ।

साझा सेवा (सहकारी संस्था) लिमिटेडले आज ललितपुरमा आयोजना गरेको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार वितरण समारोहमा मन्त्री श्रेष्ठले सहकारी क्षेत्र उदेश्य र मर्म अनुसार चल्न नसकेको गुनासो आइरहेकाले त्यसमा सुधार आवश्यक रहेको बताएकी हुन ।

मन्त्री श्रेष्ठले नीतिगत, कानुनी र व्यवहारिक रुपमा रहेका सहकारीका समस्या हल गर्न आफू तयार रहेको भन्दै नियतमा भएको खरावी अन्त्यका लागि सबै लाग्नु पर्नेमा जोड दिईन ।

उहाँले संविधानमा व्यवस्था भएको तिनखम्बे नीति अनुसार सहकारीको विकास गरी उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन अर्थतन्त्रको विकास र रोजगारी सिर्जना गर्दै गरिवी न्युनिकरणमा महत्वपूर्ण योगदान गर्न सकिने पनि बताईन ।

बजार अनुशासन, मर्यादा र कारोवारमा पारदर्शिता कायम गर्दै जनतालाई महशुस हुने गरेर सेवा दिने विषयमा सहकारीहरुले कार्ययोजना नै बनाएर अगाडी बढ्नु पर्नेमा समेत मन्त्री श्रेष्ठले जोड दिईन ।

समारोहमा मन्त्री श्रेष्ठले कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारीका अभियान्ता तथा सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने केशव बडाललाई प्रदान गरीन ।

यसअघि, आजै नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ११औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले सहकारीमा व्यजदर बडाउने नभई यसको स्थापनाको मर्म भावना र उद्धेश्यअनुसार घटाउनु पर्नेमा जोड दिईन ।

मन्त्री श्रेष्ठले भनिन, “सन्दर्भ व्याजदरको कुरा गर्दा बैंकमा ब्याजदर बढ्दा सहकारीमा पनि बढने र तर घट्दा नघटने प्रवृति नेपालमा छ, त्यसकारण सहकारीको व्याजदर बढाउने होइन, देखिएका अप्ठ्राहरु अर्को कुनै तरिकाबाट पुकाउन पर्छ र सहकारी जसका लागि हो उनीहरुका लागि व्याजदर बढाउने नभई घटाउनु पर्छ ।”

सहकारीको मूल मर्म अनुसार जाने हो भने ब्याजदर घटाउनु पर्ने उनको भनाइ छ । सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने र सहकारी त्यही अनुसार चल्ने भएकाले सोही अनुसार मन्त्रालयले भिजन पेपर तयार पारीरहेको र केही दिन भित्रै उक्त भिजन पेपर सार्वजनिक गर्ने समेत मन्त्री श्रेष्ठले जानकारी दिईन ।

मन्त्री श्रेष्ठले संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीहरुलाई सदस्य केन्द्रित भइ व्यवसायिक बनाउनु पर्नेमा दुईमत नरहेको पनि बताईन ।

मन्त्री श्रेष्ठले सहकारीले सदस्यमाथि लगानी गर्ने भन्दापनि बचत तथा ऋणको कारोबारमा बढी केन्द्रित हुने गरेको र सहकारीको सिद्दान्त अनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकी सहकारी प्रति बचतकर्ताको विश्वासमा कमी आएको भन्दै जनताको भरोसा नटुटने गरी काम गर्न आग्रह समेत गरीन ।

  • २३ पुष २०७८, शुक्रबार १७:५२ प्रकाशित
  • Nabintech